झापा, २४ फागुन । विद्यार्थीहरुलाई विद्यालय समयमै मदिरा विक्री गरेको अभियोगमा विर्तामोड नगरपालिका वडा नं. ३ स्थित ब्रदर होटलका सञ्चालक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरी हिरासतमा रहेका ४६ वर्षीय बस्नेतलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा आज झापा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको छ ।
अभियुक्त बस्नेतलाई विर्ताबजार प्रहरी चौकीबाट खटिएको टोलीले विहीवार पक्राउ गरेको थियो । होटल नजिकै रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत् दुई छात्रासहित चार जना विद्यार्थीलाई होटलका सञ्चालक बस्नेतले विहीवार विहान १० बजेतिर विद्यालय पोशाकमै मदिरा विक्री गरेका थिए ।
मदिरा सेवनपछि मातेका विद्यार्थीलाई शिक्षकहरुले उद्धार गरेर अभिभावकको जिम्मा लगाएका थिए । विद्यालयले घटना बारे प्रहरीलाई जानकारी गराएपछि विर्ताबजार प्रहरी चौकीको टोली होटलमा पुगेको थियो ।
विद्यालयबाट दुई सय मिटर वरपर मदिरा र सूर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाइने कानूनी व्यवस्था रहे तापनि कानून विपरीत विद्यालय वरपर मदिरा र सूर्तीजन्य पदार्थ बेच्ने पसलहरु सञ्चालनमा छन् ।
विद्यार्थीहरुमा मदिरा र लागू औषधको कुलत बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । लागू औषधको कारोवार र सेवनका कारण पक्राउ पर्नेहरुमा विद्यार्थीहरुको संख्या उल्लेख रहने गरेको छ ।
विमानस्थलमा बोधीचित्त बरामद
यसैबीच, प्रहरीले ठूलो मात्रामा बहुमूल्य बोधीचित्तको माला र दानासहित पक्राउ परेका काभ्रे जिल्ला ठूलोपर्साल–८ का ५२ वर्षीय सानुबाबु तामाङलाई आज कानूनी कार्वाहीका लागि बन डिभिजन कार्यालय पठाएको छ ।
चन्द्रगढीबाट काठमाडौं जान लागेका तामाङलाई चेकजाँचको क्रममा चन्द्रगढी विमानस्थलका सुरक्षाकर्मीले बोधीचित्तको दाना र मालासहित विहीवार पक्राउ गरेको थियो ।
तामाङको साथबाट १५ किलोग्राम बोधीचित्तको दाना र ११० थान माला बरामद गरेको थियो । पक्राउ परेका तामाङ र बरामद बोधीचित्तलाई आवश्यक कानूनी कार्वाहीका लागि बन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।