झापा, ११ वैशाख । कमल गाउँपालिका वडा नं. ६ की अढाई वर्षीया दिब्यान्सी पौडेलको नाकभित्र पसेको मकैको दाना चिकित्सकले निकालेका छन् ।
आज विहान इलाम बजारस्थित मामली घरमा मकैको घोडा खेलाउने क्रममा दिब्यान्सीले मकैको एउटा दाना दाहिने नाकभित्र घुसाएकी थिइन् ।
अभिभावकहरुले दाना निकाल्न नसकेपछि नजिकैको इलाम अस्पतालमा उनलाई पुर्याएका थिए । अस्पतालका स्वास्थ्यकर्मीले समेत दाना बाहिर निकाल्न सकेनन् ।
त्यसपछि दिउँसो उनलाई विर्तामोड ल्याइयो । हजुरबुवा तीर्थराज पौडेलका अनुसार अपराह्न ३ः३० बजेतिर पूर्णटुंग विर्तासिटी हस्पिटलमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. निराजन पन्थीले ओपीडी कक्षमै दिब्यान्सीको नाकभित्र अड्किएको मकैको दाना बाहिर निकालिदिनु भयो ।
‘नाकभित्र अड्किएको मकैको दाना निकाल्न सजिलो हुँदैन,’ डा. पन्थीले लोकतन्त्र पोस्टसँग भन्नुभयो–‘कहिलेकाहिँ यस्तो अवस्थामा बेहोश पारेर निकाल्नु पर्ने हुन्छ । तर दिब्यान्सीलाई बेहोश नपारी निकाल्न सफल भएँ ।’
साना बालबालिकाले अन्जानमै मकै लगायतका साना टुक्राहरु नाक र मुखभित्र हाल्ने गर्दा यस्तो दुर्घटना निम्तिने भएकाले अन्य अभिभावकहरुलाई समेत होशियारी अपनाउन डा. पन्थीको आग्रह छ ।
केही वर्ष अघि उहाँले एउटा बालकको घाँटीभित्र अड्किएको पिनसियो समेत शल्यक्रिया गरेर निकाल्नु भएको थियो ।
दिब्यान्सीका हजुरवुवा तीर्थराज पौडेलले नातिनीको नाकमा मकै अड्किएपछिको आठ घण्टा बहुतै पीडादायी र चिन्ताजनक रहेको बताउँदै सफल उपचार गरिदिएकोमा विर्तासिटी हस्पिल र डा. निराजन पन्थीलाई धन्यवाद प्रकट गर्नु भएको छ ।