झापा, १८ वैशाख । भद्रपुरमा मेची पुल निर्माणका लागि नागरिकबाट संकलन गरिएको चन्दा रकम तत्कालीन राजालाई दिने पञ्चायती शासकहरुको निर्णयविरुद्ध संघर्षमा उत्रिदा जेल परेका झापाका दुई राजनीतिक योद्धालाई नागरिक सम्मान गरिने भएको छ ।
विर्तामोडको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले मेचीनगर–९ का याम भण्डारी र भद्रपुर–८ का दिब्य भूर्तेललाई रु. एक लाख एक हजार नगदसहितको पूर्ण–टुंग आदर्श नागरिक सम्मान प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले बताउनुभयो ।
वि.संं २०२८ मा भद्रपुरका नागरिकले मेची पुल निर्माणका लागि रु. २५ लाख चन्दा संकलन गरेका थिए । सो रकम पुल नबन्दै तत्कालीन अञ्चलधीश मनमोहन मिश्र लगायत पञ्चायती नेताहरुले तत्कालीन राजा महेन्द्र शाहलाई थैली भेट भन्दै बुझाएका थिए ।
नागरिकबाट उठेको चन्दा राजालाई दिएको भन्दै आन्दोलन हुँदा याम भण्डारी र दिब्य भूर्तेललाई पञ्चायती शासकहरुले पक्राउ गरेर चरम यातनासहित जेल हालेका थिए ।
निरंकुशतन्त्रको विरुद्ध नागरिक अधिकार, लोकतन्त्र वहाली र समाज रुपान्तरणका लागि साहसिक एवम् अतुलनीय संघर्ष गरेको कदरस्वरुप भण्डारी र भूर्तेललाई नागरिक सम्मान प्रदान गर्ने बुधवार प्रतिष्ठानको बैठकले निर्णय गरेको बस्नेतले जानकारी दिनुभयो ।
गत वर्ष यो सम्मान प्रसिद्ध कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी)लाई प्रदान गरिएको थियो । आगामी वैशाख २० गते विर्तामोड एक समारोहबीच यसवर्षको सम्मान अर्पण गरिने बस्नेतले बताउनुभयो ।
२०७५ सालमा बन्यो पुल
भद्रपुरमा भारतको गलगलिया जोड्ने मेची पुल निर्माणको इतिहास रोचक छ । वि.सं. २००९ मै भद्रपुरका सूरजमल अग्रवालको संयोजकत्वमा पुल निर्माणका लागि पहिलोपल्ट समिति गठन भएको थियो ।
पुलको तीन पटक शिलान्यास भएको थियो । पहिलो शिलान्या पञ्चायतकालमै अञ्चलाधीश मनमोहन मिश्रले गरेका थिए भने दोस्रो शिलान्यास वि.सं. २०४१ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गर्नु भएको थियो । तेस्रोपटक वि.सं. २०६६ मा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले पुलको शिलान्यास गर्नु भएको थियो ।
तेस्रो पटकको शिलान्यासपछि रु. ३७ करोडको लागतमा पुल निर्माण भएको थियो । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७५ माघ १७ गते विधिवत् उद्घाटन गर्नु भएको थियो ।