२० वैशाख २०८२, शनिवार

दश वर्षअघि सुरु भएको अधुरो ‘स्याङ्लेङ्टार सडक’ मन्त्री दाहालद्वारा अनुगमन

१९ वैशाख २०८२, शुक्रवार
Image

झापा, १९ वैशाख । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले विहीवार झापाको मेचीनगरमा झापा–इलाम जोड्ने ‘राधास्वामी स्याङ्लेङ्टार सडक’को अनुगमन गर्नुभयो ।

धुलावारीस्थित पूर्वपश्चिम राजमार्गको राधास्वामीबाट प्रारम्भ हुने १४ किलोमिटर लामो निर्वाचन क्षेत्र स्तरीय उक्त सडक दश वर्ष अघि वि.सं. २०७० मा राष्ट्रिय योजनाको प्राथमिकतामा परेर निर्माण सुरु भएको थियो ।

तर, धुलाबारीदेखि टिमाई पुलसम्मको तीन किलोमिटर सडक बनेपछि योजना खारेजीका कारण निर्माण कार्य अलपत्र परेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।

वि.सं. २०७४ मा भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गत नै योजना स्वीकृत भएर १० किलोमिटर ठेक्का लागे पनि उक्त सडकको निर्माण फेरि अलपत्र भएको उहाँको भनाई छ ।

दुई जिल्लालाई सडक सञ्जालबाट जोड्ने र मेचीनगरको उत्तरी भेगको जीवनरेखा मानिएको उक्त सडकको अधुरो निर्माण कार्य पूरा गरिदिन आग्रह भएपछि मन्त्री दाहालले सडक विभागको टोलीलाई साथमै लिएर सडकको अनुगमन गर्नु भएको हो ।

सडक अनुगमन गरिसकेपछि मन्त्री दाहालले सडक विभागको दमक डिभिजन कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर विनोद महुवार र डिभिजनल इन्जिनियर श्याम यादवलाई ‘राधास्वामी स्याङ्लेङ्टार सडक’को निर्माण कार्य पूरा गर्नेगरी योजना पेश गर्न निर्देशन दिनुभएको छ ।

“निर्वाचन क्षेत्रको यो रणनीतिक सडकलाई अधुरो राखिने छैन,” मन्त्री दाहालले भन्नुभयो–“धेरै भाग कालोपत्रे भइसकेको रहेछ । जति बाँकी छ, त्यो आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरेर निर्माण कार्य पूरा गर्नेछौं ।” मन्त्री दाहालले सोही सडकमा बाढीले बगाएको खारखोला पुल र निर्माणाधीन सुकेनिन्दा पुलको समेत निरीक्षण गर्नुभयो ।

अनुगमनको क्रममा मन्त्री दाहाललाई मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती र निवत्र्तमान नगरप्रमुख विमल आचार्यले ‘राधास्वामी स्याङ्लेङ्टार सडक’को निर्माणमा बजेट अभाव हुन नदिन आग्रह गर्नु भएको थियो ।

मन्त्री दाहालले आजै भद्रपुरस्थित नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाको नवनिर्मित प्रयोगशाला र शाखाको साधारणसभाको उद्घाटन गर्नु भएको थियो ।

रक्त सञ्चार केन्द्रको आधुनिक प्रयोगशाला निर्माणका लागि भौतिक योजना तथा यातायात मन्त्रालयले रेडक्रस सोसाइटी झापालाई रु. ६० लाख बजेटको स्रोत जुटाइदिएको मन्त्री दाहालका निजी सचिव प्रकाश आचार्यले बताउनुभयो ।