२० वैशाख २०८२, शनिवार

ओडिसामा नेपालकी अर्की विद्यार्थी प्रिसाको रहस्यमय मृत्यु

१९ वैशाख २०८२, शुक्रवार
Image

झापा, १९ वैशाख । दुई महिनाअघि भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत् बुटवलकी प्रकृति लम्सालको रहस्यम मृत्यु भएको पीडा नसेलाउँदै सोही कलेजमा अध्ययनरत् वीरगञ्जी प्रिसा साहको विहीवार रहस्यमय मृत्यु भएको छ ।

प्रिसा साहको मृत्युको अवस्था प्रकृति लम्सालको जस्तै छ । प्रिसाको मृत्यु आत्महत्या वा अन्य कुन कारणले हो भन्ने विषय यतिबेलासम्म रहस्यमै छ । कलेजले उनलाई मृत अवस्थामा होस्टेलमा भेटिएको जनाएको छ ।

प्रकृतिको मृत्युपछि किटमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । उनको मृत्युको विरोधमा प्रिसाले न्यायका निम्ति प्रदर्शन गरेकी थिइन् । अहिले प्रिसाको न्यायका लागि प्रदशृन सुरु भइसकेको छ ।

प्रिसाको घटनाबारे ओडिसा राज्य सरकारले औपचारिक छानबिन प्रक्रिया सुरू गरेको जनाएको छ । राज्यको मौलिक तथा जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार, स्थानीय प्रहरीलाई विहीबार राति ८ः१० बजे घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिश्नरलगायत अनुसन्धानमा खटिएका छन् । विज्ञप्तिमा घटनाको कारण पत्ता लगाउन सोधपुछ र प्राविधिक विश्लेषणसमेत सुरू भएको जनाइएको छ ।

प्रिसाको परिवार सर्लाहीको मलंगवाबाट वीरगञ्ज वडा नं. १५ मा अस्थायी बसोबास गर्दै आएको थियो । उनी स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् । परीक्षा अवधिमा होस्टेल बस्दै आएकी उनको शव बिहीबार साँझ होस्टेल कोठामै फेला परेको थियो ।

छानबिन प्रारम्भ भए पनि विद्यार्थीहरूको सुरक्षामा विश्वविद्यालय प्रशासनको भूमिका र निगरानी प्रणालीप्रति प्रश्न उठ्न थालेको छ । विद्यार्थी, अभिभावकहरू, नेपाली समुदाय र विद्यार्थी युनियनहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रकृतिको मुत्यु भएको बेला विद्यार्थीहरू आन्दोलित हुँदा कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो । 

प्रिसा आगामी जेठ ४ गते घर फर्किने भएकी थिइन् । प्रिसा एक वर्ष अघिमात्र उच्च शिक्षा अध्ययनका निम्ति उनी त्यहाँ पुगेकी थिइन् । विहीबार राति अप्रत्याशित खबरले परिवारका सबै सदस्य मुर्छितप्रायः थिए । राति नै बुबा, आमासहित परिवारका सदस्य ओडिसातर्फ लागेका छन् ।

कलेजबाट राति ९ बजे उनको मृत्युको खबर आएको उनका भाइ गौरव साहले बताएका छन् । प्रिसा पढाईमा अब्बल थिइन् । त्यसैले महंगो मानिने किट कलेजमा पढाउन परिवारले कुनै हिच्किचाहट नपालेको भाइ गौरवले बताए ।

सम्बन्धित खबर