२० वैशाख २०८२, शनिवार

हाम्रो मेचीनगर

हामी नमुना बनाउँदैछौं बाहुनडाँगीलाई

२० वैशाख २०८२, शनिवार
Image

उ बेलामा छालाको फुटबल देख्न पाइँदैन थियो । समाजमा आज जस्तो अव्यवस्थित प्लास्टिकहरु पनि पाइँदैन थियो । हाम्रो समाज चप्पल लाउने हैसियतमा पनि थिएन त्यो बेला । मोजा खोज्न पनि अलि ठूला घरानामा जानुपर्ने स्थिति थियो । तर हाम्रो त्यो वाल मस्तिष्कमा फुटबल प्रतिको मोह र उत्साह भने जिउँदै थियो । तँ चिता, म पुर्याउँछु भनेजस्तो त्यो बेलामा हामीले प्लास्टिकको गोल बनाएर खेल्नका लागि धेरै मेहनत गर्नु पथ्र्यो । नक्सलबाडी बजार अथवा दुई नम्बरी धन्दा चल्ने फोरेन गुड्सको गोदामहरू गएर प्लास्टिक खोजेर हामी सुत्लीले मजाले बुनेर गोल बनाउँथ्यौं । यसका लागि मेरो आदरणीय दाई बिर्खबहादुर लिम्बु सिपालु हुनुहुन्थ्यो । 

पछि हाम्रो फुटबल प्रतिको मोह बढ्दै गयो । हामीले बाहिर टुटी भएको छालाको गोलहरु पाउन थाल्यौं । त्यतिखेर बाहुनडाँगीमा फन्दासिंह पाण्डेहरुको नाम निकै प्रचलित थियो । पाण्डेहरूले फुटबलमा निकै अब्बल भएर नाम कमाइसकेको अवस्था थियो । हामी भर्खर स्कुले जीवन अर्थात् तीन–चार कक्षामा पढ्थ्यौँ । माकुरबाट एकजना ध्रुवकुमार थपलिया मेरो बुवाको अनुरोधमा हाम्रै घरमा बसेर पशुपति प्राथमिक विद्यालयमा पढाउनुहुन्थ्यो । उहाँले विभिन्न कार्यक्रमहरु आयोजना गरेर स्कुललाई विभिन्न ठाउँहरूमा प्रथम बनाएर रबरको एक बोरा जति गोल सानो टेनिस बल पुरस्कारको रुपमा प्राप्त गर्नुभएको थियो । हामीले त्यसबेला त्यो बल प्राप्त गरिरहँदा त्यस क्षेत्रमा स्वर्गीय गोविन्द न्यौपाने टोक्ला मांगे भन्थे उबेलामा घनश्याम दाहाल, हर्क बस्नेत, लोकबहादुर बस्नेत, किशोर दुलाल, शरण पाण्डे, फन्दा सिंह पाण्डे, गणेश पाण्डे, प्रसाद सिंह पाण्डे, सीताराम पाण्डे, जमुना पाण्डे लगायत थुप्रै पाण्डे परिवार र पाण्डे परिवारका भान्जा भान्जी र नातेदारहरु त्यसबेलाका हामीले सुनेका प्रसिद्ध फुटबलरका नामहरू थिए । आज भारतका पूर्व टिम क्याप्टेन सुनिल क्षेत्री उहाँहरुकै उत्पादन हो । उहाँहरुको मामली बाहुनडाँगीका पाण्डेहरु भएकाले सानैदेखि पाण्डेहरुको घरमा फुटबल हुन्थ्यो र उहाँहरुले खेल्ने अवसर पाउनु हुन्थ्यो । 

शरण पाण्डेका अनुसार बाहुनडाँगीमा पहिलो नाम कहलिएका फुटबलका खेलाडी स्वर्गीय भरत रोक्काको नाम अग्रपंक्तिमा आउँछ । त्यसपछाडि रेलाल आचार्य, सोम आचार्य लगायत थुप्रै खेलाडीहरु उदय भयो । २०४०–४३ सालतिर गठन भएको ५२ युवा क्लबका संस्थापक अध्यक्ष फन्दा सिंह पाण्डेको अगुवाइमा बनेको बाहुनडाँगी युवा क्लबले फुटबलमा वास्तवमा झापामा एउटा तहल्का नै देखाएर स्थापित भयो । उ बेलामा फुटबलमा चर्चा नपाएको झापाको चर्चा बाहुनडाँगीले पाउने गथ्र्यो । शनिश्चरे, मुनाल क्लब, रोलिङ क्लब जस्ता अब्बल क्लबहरू र राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु समेत आएर यो बाहुनडाँगीको क्लबले आयोजना गरेको फुटबलमा सहभागी भएको इतिहास ताजै छ । पछिल्लो समयमा प्रदीप चौधरी, मेघराज कोइराला, मेघराज मगर, फत्तेमान मगर, हेमकुमार खड्का, कुमार राणा, निरज राई, विशाल मानसिंह, रोशन मोते, दीपक खड्का लगायत थुप्रै साथीहरुले बाहुनडाँगी युवा क्लबबाट सहभागी भई क्लबको नामलाई स्थापित गर्न सफल हुनुभयो । आज त्यही फुटबलले गर्दा मेचीनगर नगरपालिका वडा नम्बर ४ को फाइनल खेलको दिन हर्षोल्लासका साथ सबै तह र तप्काका महानुभावहरूको गरिमामय उपस्थित रहने विश्वास गरेका छौं ।  

जब हामीले सासाना नानीहरूलाई खेलमैदानमा उतार्ने निधो गर्यौं, त्यसपछि हामीले उनीहरूको खानपिन संस्कृतिलाई फेरि पनि सच्याउनुपर्छ भनेर जङफुडलाई प्रतिबन्ध गर्न थालेका हौं । हामीले हरेक हप्ता भाइबहिनीहरुलाई दिएको यो टिप्सले नानीहरुले अहिले आफ्नै घरका अभिभावकहरुलाई जङफुड नल्याइदिनु भन्न थालिसकेका छन् । घरका आफन्तहरूले अथवा कसैले माया गरेर जङफुड ल्याइदिए उनीहरुले त्यस्तो पाहुनाहरुलाई समेत सचेत गराउँदै आएका छन् । त्यति मात्र नभएर मोबाइलमा भुलिने नानीहरु अहिले मोबाइलदेखि टाढा बसेर आफ्नो पठनपाठन र शारीरिक सुगठनलाई ध्यान दिने भइसकेका छन् । बाहुनडाँगीमा यस्तै अनेक सकारात्मक गतिविधिमा नानीहरु अगाडि बढेको देख्न पाइन्छ । यो खुशी वडाको वा कुनै एउटा क्लबको मात्र नभएर सिंगो वडाबासीहरूको लागि पनि हो । आज यही खुसीले युवा क्लबले आयोजना गरेको यो फुटबल प्रतियोगितामा सबै अभिभावकहरु र ती नानीहरूका आफन्तहरुले ठूलो सहयोग गरेर कम्तिमा पनि स्थानीय स्तरबाट रु. २० लाख भन्दा बढी पैसा उठाउन सफल हुनुभएको छ भने यो विषय हाम्रो अभियानलाई अगाडि बढ्नको लागि एउटा ठूलो प्रेरणाको स्रोत बनेको छ । 

म फेरि पनि ती सबै सहयोगी मनहरुलाई हार्दिक नमन गर्दै वडा स्तरीय तर्फबाट अर्थात् स्थानीय तहबाट हार्दिक सम्मान र धन्यवाद दिन चाहन्छु । फुटबलप्रेमी स्वर्गीय रमेश थापाका छोरा राजेश थापाले अहिले बिहानका नानीहरूलाई विशेष तालिममा समय प्रदान गरिरहनु भएको छ । हात्ती आतंकले परिचित बाहुनडाँगी आज हात्तीमैत्री असल अभ्यास गर्ने समाजको रुपमा संसारभरि स्थापित र परिचित भएको छ । यसमा सहयोग पुर्याउनु हुने सम्पूर्ण किसान दाजुभाइ, वुद्धिजीवी, शिक्षक, सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । हामीले गर्न धेरै छ । हिजो हामीले बनाएका बाटाघाटा आज हिजोकै अवस्थामा पुगेका छन् । तर आज हामीले बनाएका नानीहरु ५० वर्षसम्म केही हुँदैनन् । त्यसैले हामीले विकास भनेको बाटाघाटा, पुल, पुलेसो, मठमन्दिर मात्र नभएर बालबच्चाहरूको भविष्यसँग जोडेर उनीहरुको चाहना र इच्छा अनुसारको तालिम र समय प्रदान गर्नु पनि हो । आजको जनप्रतिनिधिहरुको आवश्यकता पनि यही हो भन्ने हाम्रो बुझाई छ । 

मेचीनगर नगरपालिका वडा नम्बर ४ मा यिनै सिर्जनाका कुराहरुलाई जोडेर हामीले संगीत क्लासहरु सिर्जना गरेका छौं । श्री गणेश संगीत पाठशाला भनेर संगीतका कक्षाहरू सञ्चालन गरेका छौं । हामीले सँगसँगै ललित कला जस्ता कुराहरूलाई पनि सँगै लिएर गएका छौं भने फुटबल मात्र नभएर क्रिकेट, कराते जस्ता अन्य खेलहरुलाई पनि हामीले अगाडि सारिरहेका छौ । यो वर्षदेखि हामी भलिबललाई पनि उत्ति नै महत्व दिएर अगाडि बढाउनेछौं । त्यसैगरी साइकल राइडर आर्टिस्ट तथा रनर अर्जुन बस्नेत जस्ता प्रतिभालाई हामीले संरक्षण गरेर उहाँहरुका लागि विशेष बजेट व्यवस्थापन गरेका छौं । गुन्द्री, पिरा, मकैको फूल, घरेलु उद्योग तान, नौमती बाजा जस्ता सीपमूलक तालिमहरू सिकाएर स्थानीय स्तरमा आय आर्जनको विकास गर्ने काम पनि यस वार्डले गरिरहेको छ । थुप्रै खाले सिर्जना र रचनात्मक कामहरूबाट मात्रै समाजलाई भनेजस्तो ठाउँमा पुर्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । त्यसै अनुरुप हामीले चुनावी नारामै भनेका थियौ– बालबच्चालाई चेतना, युवालाई सिर्जना र बुढापाकालाई सन्तोष हामी दिलाउनेछौं । सोही अनुरूप हामीले कार्यक्रमहरू अगाडि बढाइरहेका छौं र फेरि पनि यस क्षेत्रका नागरिक समाज, राजनीतिक दल, युवा संघसंस्था, बुद्धिजीवी, शिक्षक, विद्यार्र्थी, अभिभावक, किसान, मजदुर तथा सबै सबै तह र तप्कालाई यो कार्यक्रममा प्रत्यक्ष तथा परोक्ष सहयोग पुर्याइ दिनु भएकोमा हार्दिक धन्यवादसहित आगामी दिनहरुमा पनि तपाईहरुसँग यसरी नै सहकार्य गरेर सामाजिक रुपान्तरण कार्यमा एक ढिक्का भएर अगाडि बढ्नेछौं भन्ने हामीले आशा राखेका छौं ।

यस वडाले विभिन्न किसिमका प्रतिभाहरूलाई विकास गरिरहेको छ । यहाँका उत्पादनहरुलाई ब्रान्डिङ गरेर सही मूल्यसहित बजारीकरण गर्न सकियो भने मात्र वास्तवमा समाजमा समृद्धि र आर्थिक विकास हुन सक्छ भन्ने हाम्रो विश्वास छ । बाहुनडाँगीका अधिकांश मानिस भौगोलिक रूपले निकै सम्पन्न देखिन्छन् । भर्खरै पछिल्लो दिनहरूमा उहाँहरूका परिवारहरु शिक्षित भएर देश विदेशबाट पनि आयआर्जन गर्ने र आफ्नो चाहिँ सर्टिफिकेटलाई पनि प्रमाणपत्रलाई पनि विकसित गर्ने र क्षमतालाई पनि अभिवृद्धि गर्ने गरिएको अवस्था छ । यसले गर्दा यस क्षेत्रका मानिसहरू आर्थिक, मानसिक र सामाजिक रूपले हरेक ढङ्गबाट सबल र सक्षम बनिरहनु भएको छ र अहिले पछिल्लो चरणमा चाहिँ धेरै रोगहरु लागेको कारणले गर्दाखेरि अब हामीले स्वास्थ्यलाई ध्यान दिनुपर्छ भन्ने कुरालाई विशेष आत्मसाथ गरेर विषादीहरुको प्रयोगलाई पनि उचित ढंगबाट गर्ने अर्गानिक उत्पादन गर्ने ‘तोरीमौरी घरलौरी’ जस्ता कार्यक्रमहरूले तोरी खेतीलाई विकास गरेका छौं । तोरी खेतीमा यस वार्ड आत्मनिर्भर हुन सकेको छ भने मौरीपालनबाट पनि हात्ती कम आउने, हात्तीले कम क्षति गर्ने र यसरी प्रकृतिबाट पनि आय आर्जन गरिन सकिने पाठ पनि हामी किसानहरुबाट सिक्दै फेरि अन्य नजानेका किसानहरुलाई सिकाउँदै पनि गरिरहेका छौं । जान्नेबाट सिक्दै नजान्नेलाई सिकाउँदै जाने असल अभ्यासहरु हामीले गरिरहेका छौं । 

जङ्फुड रोक्ने कार्यक्रम एउटा नमुनाको रुपमा नेपालमै प्रस्तुत भएको कार्यक्रम हो । यसबाट जङ्फुडको अन्त्य गरी हामी हाम्रो खानपिन सभ्यतालाई फेरि पुनः ताजगी गराउनको लागि अभ्यास गरिरहेका छौं । त्यसैले स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई अगाडि सारेर बालबालिकाहरुले जुन किसिमको एउटा विश्वासका साथ अभ्यास गरिरहेका छन्,जङफुडलाई अन्त्य गरेर पुरानो खानपिनलाई नै अगाडि सारिरहेका छन् । यसको एउटा मुख्य कारण भनेको युवा क्लबले आयोजना गरेको तालिमबाट नै हो । जुन तालिमलाई आत्मसाथ गरेर वार्षिक रुपमा प्रशिक्षकको तलबको व्यवस्था गर्ने गरेको छ आगामी दिनमा अझ सशक्त रुपमा यो अभियानलाई अगाडि सारिनेछ । यसरी विभिन्न ढङ्गबाट सामाजिक रुपान्तरणको लागि हामीले गरिएका अभ्यासहरुमा सबैको साझा हात र सबैको साझा सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

लेखकको बारेमा
Image
अर्जुन कार्की 'सीमा'

(ग्रामीण पर्यटन तथा प्रकृति संरक्षण अभियन्ता लेखक अर्जुन कार्की मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हुनुहुन्छ ।)