२१ वैशाख २०८२, आइतवार

झापाका दलहरु भन्छन्–‘प्रेस स्वतन्त्रताको व्यवहारमै सम्मान गर्छौ’

२० वैशाख २०८२, शनिवार
Image

झापा, २० वैशाख । झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताको सम्मान, रक्षा र कार्यान्वयनका लागि पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाले आज विर्तामोडमा आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा नेकपा एमालेको तर्फबाट अध्यक्ष प्रेम गिरी, नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सभापति केशवराज पाण्डे, नेकपा माओबादी केन्द्रका तर्फबाट अध्यक्ष अग्नि आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष केशव ओझा, नेकपा एकीकृत समाजबादीका तर्फबाट अध्यक्ष बेदराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सचिव शम्भु सुस्केरा, जनता समाजबादी पार्टीका अध्यक्ष समर राई, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट थिरबहादुर खवास, जनमत पार्टीका तर्फबाट अध्यक्ष भोटलाल राजबंशी र नेकपाका तर्फबाट इञ्चार्ज सुमन सीले प्रतिबद्धता जनाएका हुन् ।

महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिवद्धता’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको थियो ।

दलहरुले प्रतिबद्धता जनाएका पाँच बुँदा यसप्रकार छन् ।

१. संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि प्रतिबद्ध छौं । साथै प्रेस स्वतन्त्रताको सम्मान, रक्षा र कार्यान्वयनका लागि सरकारसहित सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदछौं ।

२. राज्यका तीनै तहमा सञ्चार सम्बन्धी कानूनहरु पूर्णरुपमा बनाएर कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछौं । साथै झापाका १५ वटै स्थानीय सरकारलाई एक वर्षभित्र सञ्चार कानून निर्माण र कार्यान्वयन गर्न अपिल गर्दछौं ।

३. गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न, परिवारलाई क्षतिपूर्ति दिन, घाइते पत्रकारको निःशुल्क उपचार र क्षति पुर्याइएका सञ्चार माध्यमलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं ।

४. पत्रकारको क्षमता वृद्धि तथा पत्रकार महासंघको संस्थागत विकास गर्दै मर्यादित र व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघ र स्थानीय सरकारबीचको सहकार्यमा जोड दिंदै त्यसका लागि राजनीतिक दलहरुको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

५. झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको वृद्धिका लागि झापाका राजनीतिक दलहरुको तर्फबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोषमा सहयोगका लागि सबै पक्षलाई अपिल गर्दछौं ।

सम्बन्धित खबर