२३ वैशाख २०८२, मङ्गलवार

एमालेका लोकप्रिय नेता प्रदिप नेपालको निधन, मृत्युपछिको तामझाम नगरिने

२३ वैशाख २०८२, मङ्गलवार
Image

झापा, २३ वैशाख । नेकपा एमालेका नेता, साहित्यकार एवम् पूर्वमन्त्री प्रदिप नेपालको आज ७२ वर्षमा निधन भएको छ । 

लामो समयदेखि पार्किन्सन्स रोगले पीडित उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उहाँले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । 

वि.सं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिस्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा हुनुहुन्छ । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उहाँले राजनीतिक जीवन प्रारम्भ गर्नु भएको थियो । नेकपा (माले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके, बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गर्नु भएको उहाँ चर्चित नख्खु जेल ब्रेक काण्डका एक नायक हुनुहुन्छ ।

उहाँले पार्टी कामकै सिलसिलामा इलाममा जिम्मेवारी सम्हाल्दा त्यहीँकी झुमा देवानसँग विवाह गर्नु भएको थियो । साहित्यतर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उहाँका मुख्य विधा थिए । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो । यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन् । 

उहाँ माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य र एमाले मुखपत्र ‘नवयुग’को संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गर्नु भयो ।

मृत्युपछिको तामझाम नगरिने

मंगलबार अपरान्ह निधन भएका नेकपा एमालेका नेता प्रदीप नेपालको सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ । 

एमाले नेता समेत रहेका भाइ समिर नेपालका अनुसार स्वर्गीय दाजुकै इच्छाअनुसार श्रद्धाञ्जलि कार्यक्रम नराखिने भएको हो ।

पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिनु भएको थियो, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलिका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।

आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदीप नेपालको हकमा तोडिने भएको छ । 

उहाँ एमाले र माओवादीबीच पार्टी एकता भएदेखि नै लगभग निष्क्रिय हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेकपाको पोलिटब्युरो सदस्यमा राखिए पनि कुनै बैठकमा सहभागी हुनु भएन । नेकपा विभाजनपछि उहाँ एमालेमा रहेर पनि सक्रिय हुनुभएन । एमाले विभाजनपछि माधव नेपाल पक्षले उहाँलाई पार्टीको कमिटीमा राखे पनि स्वीकार गर्नु भएन, बरु एमालेमै सदस्यता नवीकरण गरेर बस्नु भयो ।