झापा, ३० वैशाख । मेचीनगरको विभिन्न छ वटा वडामा क्षयरोगका संक्रमित पत्ता लगाउन कृत्रिम वौद्धिकता (एआइ) जडित एक्स–रे मेसिन प्रयोग गरिएको छ ।
मेचीनगर नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उक्त अत्याधुनिक मेसिन प्रयागमा ल्याइएको थियो ।
स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाका अनुसार वडा नं. २, ४, ७, १०, १२ र १५ मा स्वास्थ्य शिविरमा उक्त मेसिन प्रयोगमा ल्याइएको थियो ।
कोशी प्रदेशमा त्यस्तो मेसिन एउटा मात्र छ । इलामको सूर्योदय नगरपालिकामा त्यस्तै शिविरको आयोजना भएकाले मेचीनगरबाट मेसिनलाई उतै लगिएको छ ।
मेचीनगरका बाँकी नौ वटा वडामा आगामी आर्थिक वर्षमा मात्र एआई एक्स–रे मेसिन प्रयोगको पालो आउने भएको छ ।
मेचीनगरको वडा नं. ४, ७, १२ र १५ मा हालै सम्पन्न स्वास्थ्य शिविरमा एआई एक्स–रे मेसिनको प्रयोगबाटै १९ जनामा क्षयरोग पुष्टि भएको सापकोटाले जानकारी दिनुभयो ।
चार वटा वडामा एक हजार १३६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । मेसिनले क्षयरोगको संक्रमण भए बताइदिन्छ भने हुने सम्भावना छ भने शंकास्पद संक्रमितको रुपमा संकेत गर्दछ ।
शंकास्पद संक्रमित भनिएका २३६ जनाको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ ।
मेचीनगर नगरपालिकाले २०८३ सालमा नगरलाई क्षयरोग मुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिरहेको छ । बिगत तीन वर्षदेखि नगरले यो अभियान चलाइरहेको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । यस अवधिमा ५१९ जना क्षयरोगीको पहिनाच गरी तिनलाई प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्य भइरहेको छ ।