२ जेठ २०८२, बिहिवार

गाउँलेले किन छाड्नु भयो अनलाइन खबर ?

२ जेठ २०८२, बिहिवार
Image

झापा, १ जेठ । अग्रज पत्रकार शिव गाउँलेले अनलाइन खबरको प्रधान सम्पादक पदबाट राजीनामा दिनु भएको छ ।

आज विहान ११ बजेतिर सम्पादक गाउँलेले फेसबुकमार्फत अनलाइन खबर छाडेको जानकारी दिनुभएको हो ।

यो समाचार तयार पार्दाको समय अर्थात पद छाडेको एक घण्टापछिसम्म पनि अनलाइन खबरको प्रधान सम्पादकको सूूूचीमा उहाँकै नाम उल्लेख छ ।

‘अनलाइन खबरको प्रधान पदबाट विदा लिएको छु,’ उहाँले लेख्नु भएको छ–‘प्रतिक्रिया र आलोचनामार्फत मलाई जवाफदेही बन्न प्रेरित गर्ने आदरणीय पाठकहरुलाई धन्यवाद ।’

मुलुकको पहिलो वरियताको मानिदै आएको अनलाइन खबरमा गाउँलेपछि बसन्त बस्नेत सम्पादकीय नेतृत्वमा रहनु भएको छ ।

फेसबुकमा उहाँले राजीनामाको कारण उल्लेख गर्नु भएको छैन । तर बिदा लिदै गर्दा प्रयोग भएका शब्दावलीले राजीनामा सहज नरहेको संकेत गरेको छ ।

केही दिन अघि लुम्बिनीमा प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि रहनु भएको कार्यक्रमको सम्बन्धमा अनलाइन खबरमा प्रकाशित  तस्वीरसहितको समाचार विवादित भएको थियो । समाचारलाई लिएर पक्ष र विपक्षमा पाठकीय प्रतिक्रिया आएका थिए ।

लगत्तै अनलाइन खबरले उक्त समाचार सचयाउँदै क्षमायाचना गरेको थियो । उक्त प्रकरणको जवाफदेही बनेर प्रधान सम्पादक गाउँलेको राजीनामा आएको अनुमान छ ।

राजीनामा लेखेको उहाँको पोस्टमा कमेन्ट गर्नेहरुले अनलाइन खबरलाई उचाईमा पुर्याउन गाउँलेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरेका छन् ।