झापा, ४ जेठ । मेचीनगर नगरपालिकाको वडा नं. ११ ले आफ्नो वडाको कृषि क्षेत्रलाई हानिकारक रसायन र विषादीमुक्त बनाउन पहल गरिरहेको छ ।
यसका लागि लाल भागिरथा बानियाँ प्रतिष्ठानसँग मिलेर कृषकहरुलाई ओडब्ल्यूडीसी सम्बन्धी अर्गानिक कृषि तालिम प्रदान गरेको छ ।
जेठ २, ३ र ४ गते सञ्चालन भएको तालिममा सोही वडाका विभिन्न टोल समूहका २९ जना किसान सहभागी रहेका थिए ।
आज तालिम समापन समारोहमा सहभागी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्दै वडाध्यक्ष रुद्र डाँगीले हरेक भान्सालाई औषधालय बनाउनु पर्ने बताउनुभयो ।
उहाँले अर्गानिक खेती गर्न र अर्गानिक उत्पादन उपभोग गर्ने बानी बसाल्न वडाबासीलाई आग्रह गर्नुभयो ।
“किसानहरुलाई मल, बीउ, उपकरण आदि के चाहिन्छ, वडा कार्यालय दिन तयार छ,” उहाँले भन्नुभयो–“विषादीको प्रयोग अब घटाउनै पर्छ । हाम्रा उत्पादनहरु अर्गानिक बनाउनै पर्छ ।”
मेचीनगर वडा नं. ११ को कार्यालयले तालिमका लागि लाल भागिरथा बानियाँ प्रतिष्ठानलाई रु. ५० हजार बजेट उपलब्ध गराएको थियो । उक्त बजेटमा रु. १२ हजार ५०० थप गरेर प्रतिष्ठानले तालिम कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।
अध्यक्ष बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रुद्र डाँगी हुनुहुन्थ्यो भने प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ, प्रशिक्षक भाष्कर घिमिरे, प्रशिक्षक मोहनराज दाहाल, सहजकर्ता मञ्जुल मेचे, प्रशिक्षार्थीहरु चेतप्रसाद दाहाल र अनिता राजबंशी लगायतले मन्तब्य ब्यक्त गर्दै तामिल उपयोगी रहेको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव दिपेन्द्र बानियाँले गर्नु भएको थियो ।