६ जेठ २०८२, सोमवार

अझै बनेन दुई बर्षअघि भासिएको बिरिङको पुल

६ जेठ २०८२, सोमवार
Image

झापा, ५ जेठ । सभामुख देवराज घिमिरे र पूर्वमुख्यमन्त्री उद्धव थापाको निर्वाचन क्षेत्रको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । 

विर्तामोडबाट शनिश्चरे, खुदुनावारी हुँदै इलामको माइ नगरपालिका जोड्ने सडकको उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।

स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ–“पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौं, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।”

हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयबासीको मागछ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।

अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले संघीय सरकारसँग अनुरोध गरेको बताउनुभयो । “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ,“ उहाँले भन्नुभयो, “उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ । आगामी बर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।”

नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले संघीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताउनुभयो । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उहाँको भनाई छ ।

वि.संं २०६५ सालमा भारत सरकारको रु. दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायात समेत चल्न थालेका थिए ।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुंगानाले चालु आर्थिक बर्षको कार्ययोजनामा सो पुल नपरेको बताउनुभयो ।