२२ भदौ २०८२, आइतवार

माइतीघरमा आन्दोलनमा उत्रिदैछ जेन जी पुस्ता

२२ भदौ २०८२, आइतवार
Image

झापा, २२ भदौ । सोमवार राजधानीको माइतीघर मण्डलामा नेपाली जेन जी पुस्ताले सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

आज माइतीघरमा बसेको जेन जीका युवाहरुको बैठकले भोलि भदौ २३ गते हुने आन्दोलनको सेड्यूल तयार गरेको छ । तालिकाअनुसार भोलि बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला हुनेछन् ।

माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम राखिएको छ । आन्दोलनमा कसैले पनि सम्बोधन भने गर्ने छैनन् । बैठकमा सहभागी एक सदस्यका अनुसार आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गरिने र स्रष्टाहरु २८ वर्षमुनिको हुनेछन् ।

नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जी पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।

बिनासर्त सामाजिक संजाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिन भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका माग अघि सारिएको छ । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् ।

जेन जीको आन्दोलनलाई काठमाडौंका मेयर बालेन साह र राजबादी अभियन्ता दुर्गा प्रसाईले समर्थन जनाएको घोषणा गरेका छन् ।

तर, प्रसाईले फेसबुकमार्फत आन्दोलनमा सहभागी हुने बताएपछि २८ वर्षमाथिका कुनै पनि नेता वा अभियन्तालाई आन्दोलनमा नआउन आन्दोलनकर्मीहरुले आग्रह गरेका छन् ।

आन्दोलन कस्तो हुन्छ र कसले नेतृत्व गर्छ भन्ने विषयमा विभिन्न आशंकाहरु भइरहेका छन् ।