झापा, २७ भदौ । जेनजी विद्रोहको क्रममा विर्तामोडमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको मृत्यु भएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. २ घर भएका र हाल बिर्तामोड वडा नं. १० मा बस्दै आउनु भएको ३५ वर्षीय कमल भण्डारीको मृत्यु भएको हो ।
विर्तामोड इलाका प्रहरी कार्यालय अघि भएको झडपमा उहाँलाई प्रहरीको गोली लागेको थियो । बीएन्डसीमा उपचार गराइरहनु भएको उहाँको भदौ २५ गते नै मृत्यु भएको बताइएको छ ।
झापामा जेनजी विद्रोहको क्रममा दुई जनाको मृत्यु भएको हो । यसअघि अर्जुनधारा नगरपालिका वडा नं. ८ निवासी २८ वर्षीय गोपाल सेढाईको मृत्यु भएको थियो ।
अर्जुनधारा–८ कै कमला समालले सेढाईलाई रक्तदान कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा प्रहरीको गोली लागेको जानकारी दिनुभएको छ ।
घटनामा घाइते भएका केही युवाको बीएन्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।