पछिल्लो राजनीतिक अपडेट
पछिल्लो राजनीतिक अपडेट
झापा, २७ भदौ । बिगत केही दिनदेखिको सरकार शून्यतालाई चिर्दै आज मुलुकले नयाँ परिस्थितिमा अन्तरिम सरकारको प्रधानमन्त्री पाउने भएको छ ।
अन्तरिम प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाममा जेनजी आन्दोलनकारी, राष्ट्रपति र पुराना राजनीतिक दलहरु सहमत भएका छन् ।
विहीवार राति १० बजेदेखि २ बजेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको सर्वपक्षीय वार्तामा आन्दोलनकारी र दलहरुबीच कार्कीलाई अन्तरिम प्रधानमन्त्री मान्ने सहमति भएको हो । तर, यो सहमति लिखित रुपमा छैन ।
रातिको वार्तामा कसलाई प्रधानमन्त्री बनाउने र मुलुकको असहज परिस्थितिलाई कसरी सहज निकास दिने भनेर वार्ता केन्द्रित भएको थियो ।
मुलुकलाई निकास दिन जेनजी प्रतिनिधिहरुले संसद्को विघटन हुनुपर्ने माग गरेका थिए । तर, नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट वार्तामा सहभागी भएकाहरुले संसद् विघटन नगरी संबैधानिक बाटोबाटै निकास खोज्नु उपयुक्त हुने धारणा राखेका थिए ।
संसद् विघटन नगरी प्रधानमन्त्री हुँदा अप्ठेरो हुने कार्कीले समेत धारणा राखेको बताइएको छ । सहमति खोज्न आज विहान फेरि वार्ताले निरन्तरता पाउने भएको छ ।
आज हुने वार्तामा निकास निस्कने र आजै मुलुकले सरकार शून्यताको अवस्थाबाट निकास पाउने सकारात्मक खबरले सर्वसाधारणमा उत्साहको सञ्चार भएको छ ।
जेनजी आन्दोलनको भावना अनुसार आजै कार्कीलाई शपथग्रहण गराएर नयाँ कोर्सबाट मुलुकलाई विद्यमान संविधानको संशोधनकै बाटोबाट अघि बढाउन जेनजी समेत तयार भएका छन् ।
जेनजीहरुले संसद् विघटन, प्रदेश संरचना खारेज, छ महिनाभित्र ताजा जनादेश लिनेगरी नयाँ चुनाव, बानेश्वर नरसंहारका दोषीहरुमाथि कार्वाही, भ्रष्टभचारको छानविनको अडान राखेका छन् ।