झापा, १२ बैशाख । लागू औषध दूव्र्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ क्रममा झापामा दुई दिनमा १२८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले दमक लगायत जिल्लाका विभिन्न स्थानमा विशेष जनशक्ति परिचालन गरी केही दिनयता ‘स्वीप अपरेसन’ सञ्चालन गरिरहेको जनाएको छ ।
शुक्रवार ६२ जना र विहीवार ६८ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार लागू पदार्थसहित पक्राउ परेका १२ जनालाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागू औषध कसुरमा अनुसन्धान भइरहेको छ । बाँकी लागू पदार्थ दूव्र्यसनमा लागेका ११६ जनालाई लागू औषध तथा दूव्र्यसन कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरी टोलीले विहीवार महेन्द्र राजमार्गको दमकमा यात्रुवाहक सवारी साधनको चालक तथा सहचालकको स्वास्थ्य परीक्षण तथा यान्त्रिक चेकजाँच गरेको थियो ।
त्यसरी चेकजाँच गरिएका ५४ जना चालक तथा सहचालकमध्ये तीन जना चालक र दुई जना सहचालकले लागू पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गरिरहेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खड्काले बताउनुभयो । दुई जना चालकले मदिरा सेवन गरेरै सवारी हाँकिरहेको समेत सो परीक्षणबाट पुष्टि भएको थियो ।
लागू पदार्थ तथा मदिरा सेवन गरेका चालक तथा सहचालकहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै गालीगलौज र दूव्र्यवहार गरेको आरोपमा पाँच जनालाई मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको समेत उहाँले जानकारी दिनुभयो ।