१३ वैशाख २०८३, आइतवार

अस्सी बर्षे उमेरमा ‘किताब लेखिरहेका’ नरेन्द्र

१३ वैशाख २०८३, आइतवार
Image

झापा, १३ बैशाख । धेरै मानिसहरु बुढ्यौलीलाई बोझ र दिक्दारीको समय हो भन्ने ठान्छन् । गल्दो शरीरले साथ दिदैन र पढ्न लेख्न पनि सकिदैन भन्ने उनीहरुको भ्रम छ । नयाँ पुस्ताले पनि पढ्न भनेपछि जाँगर मार्छन् ।

तर, मेचीनगर–६ काँकरभिट्टाका नरेन्द्रप्रकाश सिटौला त्यस्तो उदाहरणीय सर्जक हुनुहुन्छ, जो ८० वर्षे ज्येष्ठ नागरिकको उमेरमा धमाधम किताब लेखिरहनु भएको छ ।

उहाँको तेस्रो कृति ‘सन्देश’ शनिवार त्रिफला राष्ट्रिय पुस्तकालयमा एक समारोहबीच लोकार्पण भएको छ । शिक्षासेवी जयनारायण ढुंगानाले पुस्तकको लोकार्पण गर्दै बुढ्यौली जीवनलाई लेखन कार्यमा लगाउनु भएकोमा सिटौला प्रशंसा गर्नुभयो ।

“लेख्न र पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण बन्नु भएको छ,” उहाँले भन्नुभयो– “ नरेन्द्रप्रकाश सिटौलाले जसरी सिर्जनात्मक काममा मन लगाउन सकियो भने एकातिर जीवनमा प्राप्त गरेका अनुभवलाई नयाँ पुस्ताका लागि हस्तान्तरण गर्न सकिन्छ भने अर्कोतिर शरीरलाई मानसिक र बौद्धिक रुपमा तन्दुरुस्त राख्न सकिन्छ ।”

सिटौला वि.सं. २००४ असोज १२ गते ताप्लेजुङको आठराईमा जन्मनु भएको थियो । उहाँले २०७० सालमा ‘मेरो कथाका पानाहरु’, २०८१ सालमा ‘अनुभव र अनुभूतिहरु’ र २०८३ सालमा ‘सन्देश’ प्रकाशित गर्नु भएको छ ।

“हुन त आजकल किताब पढ्नेभन्दा मोबाइल सर्च गरेर हेर्ने मानिसहरुको वाहुल्य छ,” साहित्यकार सिटौला भन्नुहुन्छ– “तैपनि, जीवनका उकाली ओरालीहरुमा धेरै घटना देखियो भोगियो, ती स्मरणहरुलाई कथा, निबन्ध र सामयिक लेखका रुपमा प्रकाशित हुँदा भावी पुस्ताले इतिहास थाहा पाउँछन् भनेर कलम चलाउन मेरो जाँगर चल्ने गरेको छ ।”