२१ वैशाख २०८२, आइतवार

सांसद् र शिक्षकहरु नै सही पोजिसनमा गाउँदैनन् राष्ट्रगान

१३ चैत २०७९, सोमवार
Image

मेचीनगर, १३ चैत । राष्ट्रगान गाउँदा कसरी उभिने ? सर्वसाधारणलाई धेर ख्याल नहुन सक्छ । तर मन्त्री, सांसद् र शिक्षकहरु नै गलत पोजिसनमा उभिएर राष्ट्रगानको मर्यादा भुलिरहेको पाइन्छ ।

कोही हात छातीमा राखेर उभिन्छन् भने कोही पछाडि हात बाँधेर उभिन्छन् । कोही कोही घोसेमुन्टो लगाउँछन् । कोहीले मुड्की पनि उचाल्छन् ।

तर माथि उल्लेख गरिएका सबै पोजिसन राष्ट्रगानको मर्यादा विपरीत हुन् । राष्ट्रगान गाउँदा सतर्क पोजिसनमा उभिनु पर्छ । दुबै हात तर झारेर खुट्टालाई भी आकारमा राख्नु पर्दछ ।

यति मात्र होइन । राष्ट्रगान गाउँदा छाती उचो फराकिलो बनाउनु पर्छ । निरस र घोसेमुन्टो लगाउनु हुँदैेन ।

शोक प्रकट गर्न मौनधारण गर्दा मात्र मुन्टो निहुराउनु पर्दछ । यो विषयमा सांसद् र शिक्षकहरु पनि चुक्ने गरेका छन् ।

केही दिन अघि मेचीनगर नगरपालिकामा नेपाली भाषाको प्रयो र लेखन सम्बन्धी एउटा कार्यक्रममा प्राज्ञ सभा सदस्य डा. देवी नेपालले राष्ट्रगानको सही पोजिसन बारे चर्चा गर्नुभयो । त्यो देखेर मेचीनगर प्याब्सनका एक पदाधिकारीले आजदेखि हामी विद्यार्थीलाई सही पोजिसन बारे सिकाउने बताउनुभयो ।

ती प्याब्सन पदाधिकारीका अनुसार विद्यालयहरुमा हात छातीमा राखेर राष्ट्रगान गाउन सिकाइएको रहेछ ।

यसैगरी, केही दिन अघि कृति बिमोचन कार्यक्रम थियो । त्यहाँ राष्ट्रगान गाउने अतिथिहरुको हात छातीमा राखिएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले पनि अचेल आफ्ना कार्यक्रमहरुमा राष्ट्रगान गाउने चलन बसाएका छन् । त्यहाँ पनि नेताहरु कोही छातीमा हात राखेर र कोही मुड्की उठाएर राष्ट्रगान गाउने गर्छन् ।

कानून नै बन्दैछ

राष्ट्रगानको मर्यादा राख्न लगाउन सरकारले नयाँ कानून नै संसद्बाट अनुमोदन गरेको छ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो । 

उक्त विधेयकमा राष्ट्रिय गान कसरी गाउने र सम्मान कसरी प्रकट गर्ने व्यवस्था पनि उल्लेख छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो ।

डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्नुभएको थियो । विधेयकमा राष्टिय गानसम्बन्धी निम्न अनुसारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय गानको प्रयोग

राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, फौजी, सामेली, सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुद समारोह, रेडियो र टेलिभिजनमा राष्ट्रिय गानको प्रयोग अनिवार्य रूपमा गर्नुपर्नेछ ।

औपचारिक तथा विशेष समारोह र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ, संस्था तथा कूटनीतिक नियोगहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट तथा विशिष्ट व्यक्ति वा सार्वजनिक ओहोदामा पदाधिकार रहेका वा नरहेका सर्वसाधारण सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले भी आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्नेछ ।

तर अपाङ्गता भएका व्यक्तिको हकमा निजको शारीरिक अवस्था अनुसार सम्मान प्रकट गर्न यस दफाले बाधा पुर्याएको मानिने छैन ।

यसअघि मन्त्रीपरिषद्ले राष्ट्रगान सम्बन्धी कार्यविधि बनाएर लागू गरेको थियो । कार्यविधिमा समेत अहिले अनुमोदन भएको कानूनमा जस्तै प्रावधान रहेको थियो ।


सम्बन्धित खबर