२० वैशाख २०८२, शनिवार

झापामा रगतको ‘कम्पोनेन्ट’ छुट्याउने आधुनिक प्रयोगशाला स्थापना

१९ वैशाख २०८२, शुक्रवार
Image

झापा, १९ वैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुर रक्तसञ्चार केन्द्रमा रगतको ‘कम्पोनेन्ट’ छुट्याउने प्रविधिसहितको आधुनिक प्रयोगशाला स्थापना गरेको छ ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त रु. ६० लाख र शाखाको आफ्नै स्रोतबाट रु. १५ लाख गरी रु. ७५ लाखको लागतमा आधुनिक प्रयोगशाला निर्माण भएको नेरेसो झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो ।

नवनिर्मित प्रयोगशालाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले विहीवार एक समारोहबीच उद्घाटन गर्नुभयो । आजदेखि नयाँ प्रयोगशालाबाट सेवा सुरु भइसकेको छ ।

रगतलाई प्रयोगशालामा प्रशोधन गरेर प्लाज्मा, रातो रगत, सेतो रगत र प्लेटलेट्स जस्ता ‘कम्पोनेन्ट’ छुट्याएर विरामीको आवश्यकता अनुसार प्रयोग गरिने सभापति ढकालले जानकारी दिनुभयो । 

रगतको ‘कम्पोनेन्ट’ छुट्याउने आधुनिक प्रयोगशाला यसअघि झापाको विर्तामोडस्थित रक्त सञ्चार सेवा केन्द्रमा मात्र थियो । अब यस्तो सेवा प्रदान गर्ने प्रयोगशाला भद्रपुरमा थपिएपछि कचनकबल, हल्दिबारी, बाह्रदशी, भद्रपुर लगायतका दक्षिणी झापाका बासिन्दालाई सुविधा पुग्ने उहाँले बताउनुभयो ।

झापामा बीएन्डसी हस्पिटल, दमक रेडक्रस, लाइफलाइन अस्पताल, आम्दा अस्पताल, भद्रपुर रेडक्रस र विर्तामोड रेडक्रसमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा रहेको नेरेसो झापा जिल्ला शाखाका अधिकृत हरिचरण खड्काले जानकारी दिनुभयो । 

झापामा दैनिक औसत ७० पिन्ट र वार्षिक औसत २० हजार पिन्ट रगत खपत हुने गरेको उहाँले बताउनुभयो । ‘कम्पोनेन्ट’ छुट्याउने प्रविधिसहितको आधुनिक प्रयोगशाला झापामा पहिलोपल्ट विर्तामोडमा वि.सं. २०७३ मा स्थापना गरिएको थियो । त्यसअघि यो सेवा लिन झापाका विरामीले धरान धाउनु पथ्र्यो ।

नेपाल रेडक्रस सोसाइटीले भद्रपुरमा वि.सं. २०३९ मा रक्त सञ्चार सेवा सुरु गरेको हो । साविक मेची अञ्चल अस्पतालको आवश्यकतालाई मध्यनजर गरी भद्रपुरमा पहिलो रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

नेरेसो झापा शाखाले रक्तसञ्चार सेवालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर झापाका २६ वटा अस्पतालका ४९ जना डाक्टरसँग हालै अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रमका सहभागी डाक्टरहरुले विरामीका लागि ‘ताजा रगत’को साटो आवश्यक ‘कम्पोनेन्ट’ सिफारिस गर्नुपर्ने निष्कर्ष निकालेका थिए ।

दमकका स्वयम्सेवी रक्तदाता गणेशप्रसाद गौतम अब रक्तसञ्चार सेवा केन्द्रहरुले रक्तदाताको डिजिटल अभिलेख राख्नु पर्ने धारणा राख्नु भएको छ । उहाँ भन्नुहुन्छ–“कुन रक्तसमूहको रक्तदाता को हो र उहाँले कतिपटक कहिले रक्तदान गरेको हो भनेर थाहा पाउन डिजिटल विवरण राख्न जरुरी भइसकेको छ ।”

सम्बन्धित खबर