१३ वैशाख २०८३, आइतवार

मेची उद्योग वाणिज्य संघ

सदस्यता शुल्क तिरिदिएर ‘भोट कब्जा गर्ने’ बेथिति कायमै

१३ वैशाख २०८३, आइतवार
Image

धुलाबारी, १३ बैशाख । मेची उद्योग वाणिज्य संघको निर्वाचनको मिति आउन दुई साताभन्दा कम समय बाँकी छ । तर अहिलेसम्म मतदाताको संख्या कति हो भनेर टुंगो लाग्न सकेको छैन ।

बैशाख ११ गतेसम्म संघमा आफै गएर सदस्यता दर्ता एवम् नवीकरण गरिसकेकाको संख्या एक हजार ५०० भन्दा कम छ । यो नै सदस्यको अन्तिम संख्या हुनेछैन ।

आफै शुल्क तिरिदिने भनेर उम्मेद्वारका आकांक्षीहरुले बजार र पसलमा पुगेर भेला गरेका फर्महरुको फाइल खोल्न बाँकी छ । ‘भोट दिने’ शर्तमा भेला पारेर संघको कार्यालयमा बुझाइएका यस्ता फाइलमा एक हजार ५०० कै हाराहारीमा सदस्यता दर्ता र नवीकरण रहेको स्रोतले जनाएको छ ।

फाइल बुझाउनेहरुमा अध्यक्ष पदको उम्मेद्वारका रुपमा चर्चामा आएकाहरु नै छन् । फाइल बुझाउने होडबाजीमा कसैले धेरै र कसैले थोरै फर्म भेला पारेका छन् । 

फाइल भेला पार्ने बहानामा ‘मतदाता किन्ने’ यो बेथिति बिगतदेखि नै चलनमा छ । संघको बिधानले ‘कार्य समितिले तोकेको म्यादभित्र नवीकरण एवम् सदस्यता दर्ता गरिसक्नु पर्ने’ उल्लेख छ । विधानको व्यवस्था अनुसार एक वर्ष अघि सदस्य बनेकाहरु मात्र उम्मेद्वार बन्न पाउनेछन् भने यसै वर्ष सदस्यता लिएकाहरु मतदाता मात्र बन्नेछन् । अध्यक्षको उम्मेद्वार बन्न भने एक कार्यकाल कार्य समितिमा बसेको हुनुपर्ने प्रावधान छ ।

नवीकरण गरिदिएर ‘भोट कब्जा गर्न’ फाइल भेला पार्नेहरुले एउटा भोटका लागि न्यूनतम् रु. ७०० देखि रु. पाँच हजार ५०० सम्म बुझाउनु पर्ने हुन्छ । बढी दौडधुप गर्ने आकांक्षीले २०० देखि १००० सम्म फर्म भेला पार्ने गरेको पाइएको छ । यसमा एक उम्मेद्वारले रु. १० देखि २० लाखसम्म खर्च गर्नसक्ने अनुमान छ ।

फाइल भेला पार्ने बहानामा ‘मतदाता किन्ने’ यो बेथिति चुनावलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउने सर्वमान्य मान्यता विपरीत देखिन्छ । तर, यसलाई कडाइका साथ रोक्नेतर्फ कसैको पनि ध्यान गएको छैन । राजनीतिक दलहरुले पनि बेथितिलाई नै मलजल पुर्याउँदै आएका छन् ।

यसअघि संघको चुनावमा एक हजार ७६८ जना मतदाता थिए । यसपटक यो संख्या बढेर दुई हजार ५०० पुग्ने सम्भावना छ ।

(फोटो एआईद्वारा निर्मित हो । )