६ असार २०८१, बुधवार

झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी

२४ साउन २०८०, बुधवार
Image

झापा, २४ साउन । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाको रुपमा समेत चिनिएको छ । 

धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइनहुने सुपारीलाई औषधीय गुणयुक्त फल मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशको रुपमा पूजा गरिने चलन छ । यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुको रुपमा धेरै मानिसले प्रयोग गर्दै आएका छन् । यसको पातबाट वातावरणमैत्री थालबटुका समेत उत्पादन हुने गरेको छ ।

वर्षौदेखि झापा जिल्लामा सुपारीको खेती हुँदै आए तापनि यसको खेतीले व्यावसायिक स्वरुप धारण गरेको भने धेरै भएको छैन । अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसानहरु धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेका छन् ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार सुपारीको व्यावसायिक खेती झापासहित कोशीका चार जिल्लामा हुने गरेको छ । सुनसरी, मोरङ र उदयपुरमा पनि यसको व्यावसायिक खेती हुने गरेको छ । 

मन्त्रालयका कृषि विज्ञ अभिमन्यू अधिकारीका अनुसार कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यहीकारण झापालाई सुपारीको राजधानी वा उर्वरभूमि पनि भन्ने गरिन्छ ।

झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लाको कुल चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक बर्ष २०७९÷०८० मा कोशी प्रदेशमा १४ हजार ५६१ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

झापामा दुई हजार ७७० हेक्टरमा सुपारी खेती हुँदै आएको छ । जहाँ आव २०७९÷०८० मा १० हजार ३७० मेट्रिक टन सुपारी उत्पादन भएको छ । झापामा सुपारी खेतीको विस्तार पनि तीब्र रुपमा भइरहेको छ ।

झापाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको सुपारी खेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्व अध्यक्ष निलकण्ठ तिवारी बताउनुहुन्छ । सुपारीको पातदेखि खोस्टा समेत विक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको उहाँको भनाई छ ।

झापामा सुपारीको खोस्टाबाट प्लेट, बटुका, चम्चालगायतका सामान बनाउने ठूला साना गरी आधा दर्जन उद्योग सञ्चालनमा रहेका छन् । सुपारीका पातबाट निर्मित सामान यूरोपसम्म निर्यात हुने गरेको छ । 

झापा पछि मोरङमा सबैभन्दा बढी सुपारी खेती र उत्पादन हुँदै आएको छ । मोरङको ९०५ हेक्टरमा सुपारीको खेती हुँदै आएको छ । गत आवमा मोरङमा दुई हजार ९४६ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । 

यसैगरी, इलाममा गत आवमा २०९ हेक्टरमा सुपारी खेती भएकोमा ६१० मेट्रिक टन उत्पादन भएको थियो भने सुनसरीको १३५ हेक्टरमा खेती हुँदा ५२५ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ । उदयपुरको ३५ हेक्टरमा सुपारी खेती भएको र गत आवमा १०९ मेट्रिक टन सुपारी उत्पादन भएको पाइएको छ ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत झापामा सुपारी जोन सञ्चालन भएको उहाँले बताउनुभयो । जोन घोषणा भएसँगै सुपारी किसानलाई खेती विस्तार, विरुवा उत्पादन, कृषि औजार, भण्डारण, सुपारी प्रशोधन लगायतका लागि परियोजनाले ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा विभिन्न औजार दिने गरेको छ । 

झापाको पूर्व पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा सुपारी खेतीका लागि अनुकूल माटो रहेको छ । बाहुनडाँगी, बुधवारे, शनिश्चरेमा जताततै सुपारीका मनमोहन बगान देख्न सकिन्छ । पछिल्लो समय सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । 

“कम लगानीमा बढी आम्दानी हुने भएकोले सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको हो,” सुपारी जोनका पूर्व अध्यक्ष तिवारी भन्नुहुन्छ–“जंगली हात्तीले अरु बाली खाएर नष्ट गरेपछि सुरक्षित बालीको रुपमा हात्तीपीडित क्षेत्रका बासिन्दाले सुपारी खेती विस्तार गर्न बाध्य भएका पनि छन् ।” 

एकपटक लगाएपछि पुस्तौंसम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने र पातदेखि फलसमेत बोटबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले जंगली हात्तीले सुपारी बालीलाई कम क्षति गरेको पाइएको बताउनुभयो ।

स्वदेशमा सुपारी खेती विस्तारसँगै यसबाट लाभान्वित किसानको संख्या बढ्दै गएको छ । मेचीनगर–४ का राजेन्द्र मिश्रले धान खेती मासेर अढाई बिगाहामा सुपारी खेती गर्नुभएको छ । सुपारीबाट प्रति विगाहा वार्षिक रु. तीन लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । यसरी विश्लेषण गर्दा धान खेतभन्दा सुपारीबाट दश गुणा बढी आम्दानी लिन सकिन्छ ।

सुपारी बारीभित्रै तोरी, फिलुंगे, आलस, कागती, निबु, बेसार र अदुवाको खेती पनि गर्न सकिने उहाँको भनाई छ । वहुवर्षे बाली भएकाले एकै वर्षमा एउटा बोटबाट ५० केजीसम्म सुपारी फलाउन सकिन्छ । 

स्वदेशमा खेती र उत्पादनको प्रचुर सम्भावना भए तापनि तेस्रो मुलुकबाट आयातित सुपारीको तस्करी धन्धाका कारण स्थानीय कृषक मारमा परेका छन् । सरकारले तोकेको भारत निकासी कोटामा विदेशी सुपारी मिसाउने धन्धाका कारण स्वदेशी सुपारीको बजार अन्योल र विवादमा पर्ने गरेको किसानहरुको गुनासो छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।