४ जेठ २०८१, शुक्रवार

काँकरभिट्टा खानेपानीको चुनावमा भोटिङ मेसिन प्रयोग गर्ने कि नगर्ने ?

१८ वैशाख २०८१, मङ्गलवार
Image

मेचीनगर, १८ बैशाख । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा भोटिङ मेसिनको प्रयोग बारे बहस भित्रिएको छ ।

संस्थाको २८ औं साधारणसभाको उद्घाटन अवसरमा सुरु भएको यो बहसमा दलका अगुवा नेताले समेत आफ्नो धारणा व्यक्त गर्नु भएको छ ।

संस्थाले पानीका ७६४९ धारा जडान गरिसकेको छ । उपभोक्ताकै निर्वाचनबाट नयाँ नेतृत्व समेत चयन हुने भएकाले यसपाली प्रविधिको प्रयोग गर्दै भोटिङ मेसिनका बारेमा संस्थाले उपभोक्ताहरुसँग राय मागेको हो ।

सभाको प्रमुख अतिथि रहनु भएको प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भोटिङ मेसिन प्रयोगमा ल्याउन सुझाव राख्नु भयो ।

‘भोटिङ मेसिनलाई अविश्वास नगरौं,’ उहाँको भनाई छ–‘मेसिनको सञ्चालक राम लक्ष्मण दुबैलाई म राम्ररी चिन्दछु, जान्दछु । उहाँहरुले विकास गरेको प्रविधिका बारेमा प्रश्न गर्न सकिदैन ।’

शर्माले भोटिङ मेसिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमतिमा गरिनु उचित हुने पनि बताउनुभयो ।

तर, संविधानसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले तत्कालै भोटिङ मेसिन प्रयोग नगर्न सुझाव दिनुभएको छ ।

‘एआईको जमानामा प्रविधिमाथि अविश्वास गरेको होइन,’ उहाँले भन्नुभयो–‘तर, हाम्रा उपभोक्ता प्रविधिसँग घुलमिल भइसकेका छैनन् । प्रयोग गर्न जानेनन् भने अनर्थ हुनसक्छ ।’

उहाँले यसपाली भोटिङ मेसिनले कसरी काम गर्छ भनेर सिक्ने र आउँदा वर्षमा विश्वासका साथ मेसिनबाटै निर्वाचन गर्न सकिने बताउनुभयो ।

रामलक्ष्मण नामका रिमाल दाजुभाइले नेपालमा भोटिङ मेसिन निर्माण गरेर विभिन्न निकायको चुनावमा प्रयोग गर्दै आउनु भएको छ । 

लक्ष्मण रिमालले आजै संस्थाको साधारणसभामा मेसिनको प्रयोगले पुर्याउने फाइदा र यसको निष्पक्षताका बारेमा महत्त्वपूर्ण जानकारी दिनुभयो । 

उहाँले हालसम्म १५६ स्थानमा चुनाव मेसिनबाट गराइसकेको र कहिँ पनि निष्पक्षतामाथि प्रश्न नउठेको बताउनुभयो ।

‘ढिलोचाँडो मात्र हो,’ उहाँले भन्नुभयो–‘प्रविधिलाई अविश्वास गरेर मानव जीवन अब सम्भव छैन । हामीसँग सुरक्षित प्रविधि छ । तपाईहरुले मन पराउनु भयो भने यही चुनावमा हामी मतदान गराउन तयार छौं ।’