१ असोज २०८१, मङ्गलवार

मेसिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी

२० भदौ २०८१, बिहिवार
Image


झापा, २० भदौ  वनमा खेर गइरहेका सालका पातहरुलाई संकलन गरेर दुना टपरी बनाई आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् । 

कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समिति र मेचीनगर नगरपालिकामा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ ले मेसिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी गरेका हुन् । 

दुवै सामुदायिक वनलाई डिभिवन वन कार्यालय झापाले मेसिन अनुदानमा उपलब्ध गराएको जनाएको छ । रु. पाँच लाख मूल्य बराबरको मेसिन गत बर्ष जामुनखाडी र यसबर्ष मागुरमाडीलाई उपलब्ध गराएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो । 

उहाँले सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न तथा गरीब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । बजारमा भारतबाट आयतीत प्लाष्टिकका सामाग्रीलाई यसले विस्थापित गर्ने उहाँको भनाई छ । 

सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्थानीय वनले उत्पादन गरेका दुनाटपरीको बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने उहाँको भनाई छ ।

यस अघि जिल्लामा सुपारीको पातको दुना टपरी बनाउने कारखानाहरु स्थापना भए पनि सालको पातको टपरी बनाउने मेसिन भनेको पहिलो पटक ल्याइएको हो । दशैं अघिदेखि नै दुवै सामुदायिक वनहरुले उपभोक्तामार्फत दुना टपरी उत्पादन सुरु गर्ने जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो ।