झापा, २५ कात्तिक । चारआली साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निम्न वर्गीय उपभोक्तालाई राहत पुर्याउन खानेपानीको मासिक महसुल घटाएको छ ।
मेचीनगर नगरपालिकाको वडा नं. ११, १२ र १३ मा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक रु. १७५ मात्र तिर्नु पर्नेछ । यसअघि ती उपभोक्ताले मासिक रु. २०० महसुल भुक्तानी गर्दै आएका थिए ।
शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थाले साधारणसभाबाट मासिक महसुल घटाउने प्रस्ताव पारित गरेको समितिका अध्यक्ष राजन चिमरियाले बताउनुभयो ।
उहाँका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रति हजार लिटरमा मासिक महसुल रु. ३० तिर्नु पर्नेछ । यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले रु. ३२ तिर्दै आएका थिए ।
मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रति हजार लिटर रु. ४२ तिर्दै आएकोमा अब रु. ४० मात्र तिर्नु पर्ने भएको छ । यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रति हजार लिटरको मासिक रु. ६५ तिर्नु परिरहेकोमा अब रु. ६० तिर्दा हुने भएको छ ।
साधारणबाट पारित भएको पानीको महसुल घटाउने यो प्रस्ताव यही मङ्सिर महिनादेखि लागू हुने अध्यक्ष चिमरियाले जानकारी दिनुभयो । संस्थामा दुई हजार ७०० धारा सदस्यहरु आवद्ध छन् । संस्थाले खानेपानीको चुहावटलाई ४० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेको समेत जनाएको छ ।