१ असोज २०८१, मङ्गलवार

मानव बेचविखनको फेरियो शैली-“कहाँ जाने बहिनी भनेर सोध्यो भने दार्जीलिङ घुम्न हिँडेको भन्छन्”

२१ भदौ २०८१, शुक्रवार
Image

झापा, २१ भदौ  आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीहरुलाई दिनहुँ भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीहरुलाई माइती नेपालका सीमा निगरानीकर्ताहरुले चेकजाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

“बिगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका ११९ जना नावालिगलाई उद्धार गरेका छौं,” माइती नेपालका प्रदेश संयोजक घिमिरेले भन्नुभयो–“उद्धार गरिएका ती अधिकांश किशोरीहरु छन् । उनीहरुलाई मानव बेचबेखिनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदैथियो ।”

पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको जनाउँदै उहाँले नेपाली युवतीहरुलाई भारतीय भूमि पुर्याएर भिजिट भिसामार्फत घरेलु कामदारका लागि हङकङ र खाडी मुलुक लैजाने प्रवृत्ति समेत बढेको बताउनुभयो । माइती नेपालले मानव बेचबिखनका लागि भइरहेका आपराधिक गतिविधि रोक्न सीमामा निगरानी बढाएको समेत जनाएको छ ।

“एक दशक पहिलेको कुरा गर्ने हो भने नाकाबाट लुकीछिपी नेपाली किशोरीहरुलाई भारत पुर्याएर सिधै यौन शोषण हुने कोठीहरुमा बन्धक बनाइन्थ्यो,” उहाँले भन्नुभयो–“श्रम शोषण गर्ने शैली बदलिएको छ । सामाजिक सञ्जालबाट अपत्यारिलो तलब पाइने जागिरको लोभ देखाउने र भारत लगेर जवर्जस्ती श्रम शोषण गर्ने गिरोहको चलखेल अचेल बढेको पाइएको छ ।”

सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा माइती नेपालले पूर्वीनाका काँकडभिट्टामा भारत जाँदै गरेका छ हजार ७९१ जनालाई सीमामा रोकेर चेकजाँच गरेको जनाएको छ । जसमध्ये ८०१ जनालाई परामर्शपछि सुरक्षित रुपमा फर्काइएको छ ।

सीमामा रोकेर चेकजाँच गरेर फर्काइएका ८०१ जनामध्ये १८ वर्ष मुनिका ११९ जना नावालिग थिए । माइती नेपालको तथ्यांक अनुसार सोही अवधिमा काँकडभिट्टा नाकाबाट उद्धार गरेर सुरक्षित रुपमा २२ जना नावालिगलाई घर पुर्याइएको छ । 

उक्त अवधिमा भारतको विभिन्न सहरमा जोखिमपूर्ण श्रम शोषणमा परेका चार जना नावालिगलाई उद्धार गरेर नेपाल ल्याइएको समेत घिमिरेले जानकारी दिनुभयो । माइती नेपालले काँकडभिट्टा लगायतका विभिन्न नाकामा निगरानीका लागि कर्मचारी परिचालन गर्दै आएको छ । उनीहरुले भारत जान लागेका बालवालिका र शंकास्पद व्यक्तिहरुलाई तत्कालै सोधपुछ र चेकजाँच गर्दै आएका छन् ।

भारतको दार्जीलिङ, सिलिगुढी घुम्न जाने र नातेदारको घरमा पाहुना खान जाने भन्ने बहाना बनाएर गिरोहले नेपाली किशोरीहरुलाई नाका कटाउने गरेको माइती नेपालको सीमा निगरानीकर्ता गंगा मगरले बताउनुभयो । 

“कहाँ जाने बहिनी भनेर सोध्यो भने कोहीले दार्जीलिङ घुम्न जान हिँडेको भन्छन् भने कोहीले आन्टीको घरमा पाहुना लाग्न गएको भनेर हामीलाई झुक्याउन खोज्छन्,” सीमा निगरानीकर्ता मगरले भन्नुभयो–“उनीहरुको हाउभाउ र बोलाइबाटै हामीलाई उनीहरुलाई कसैले प्रलोभनमा पारेर भारत लैजाँदैछ भन्ने थाहा भइहाल्छ । घर ठेगाना, जाने ठाउँको नाम र कामको प्रकृति सोधीखोजी गरेपछि उनीहरुको अवस्था खुलिहाल्छ । भारत लैजाने गिरोहले नै उनीहरुलाई बोर्डरमा ढाँट्न सिकाएको हुन्छ । १८ वर्षमुनिका किशोरीहरुलाई हामी कडा निगरानीमा राख्छौं ।”

केही वर्षयता काँकडभिट्टा नाकाबाट लुकीछिपी भारतको सिलिगुढी आसपास पुर्याएर नेटवर्किङ धन्धामा नेपाली किशोरीहरुलाई फँसाउने प्रवृत्ति बढेको माइती नेपाल काँकडभिट्टाका संयोजक घिमिरेले बताउनुभयो ।

भारतको सिलिगुढी, चेन्नाई लगायतका सहरमा पुर्याएर तीस हजार भारु मासिक तलब दिने लोभ देखाएर नेपाली चेलीहरुलाई फँसाउने गरिएको र लगिसकेपछि होटल, रेस्टुरेन्ट र घरेलु कामदारको रुपमा बन्धक जस्तो बनाएर काममा लगाउने गरिएको धेरै गुनासो आउने गरेको उहाँले जानकारी दिनुभयो । 

पश्चिम नेपालको जुम्ला, बाजुरा, दाङ लगायतका जिल्लाबाट ऋण काढेर रोजगारी खोज्दै आएका किशोरीहरु इम्पोरियम, ग्लोबल, नेस्क्ट ग्रिप, आर्ज ट्रेड लगायतका विभिन्न नेटवर्किङ धन्धामा आफ्नो भएभरको सबै रकम डुबाएर विचल्लीमा पर्ने गरेको माइती नेपालको सम्पर्कमा उद्धार भएकाहरुले बताउने गरेका छन् ।