३ असोज २०८१, बिहिवार

डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

२४ भदौ २०८१, सोमवार
Image

झापा, २४ भदौ ः कोशी प्रदेशमा डेङ्गीबाट साउन यता एक हजार ६५ जना संक्रमित भएका छन् । यस अवधिमा डेङ्गी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया बिमला दाहाल पौडेल र विर्तामोड–४ का ८ वर्षीय आलोकजंग बस्नेत रहेका छन् । झापामा साउन १ गते यता संक्रमितको संख्या १२८ पुगिसकेको छ ।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या ५३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका संक्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एक जना पनि संक्रमित पाइएको छैन ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको संक्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८ जना, संखुवासभामा ६७ जना, ओखलढुंगामा २९ जना, पाँचथरमा २१ जना, सोलुखुम्बुमा छ जना, इलाममा पाँच जना, खोटाङमा चार जना र तेह्रथुममा दुई जनामा डेङ्गी संक्रमण भएको पाइएको छ ।

गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको संक्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा ३८६ जनामा डेङ्गी संक्रमण भइसकेको थियो ।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको संक्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सात जना र भद्रपुरमा पाँच जनामा डेङ्गीको संक्रमण भेटिएको छ ।