३ असोज २०८१, बिहिवार

कृषि थोकको काँचो केरामा कार्बानेट विषादीको उच्च मात्रा भेटियो

२६ भदौ २०८१, बुधवार
Image

झापा, २६ भदौ । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानावारीबाट विक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य हुनेगरी विषादीको उच्च मात्रा भेटिएको छ।

कृषि तथा पशुपंक्षी विकास मंत्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा आज विहान इलामको दानावारीका कृषक कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन वटा नमुना परीक्षण गरिएको थियो ।

तीन वटा नमुनामध्ये दुई नमुनामा कार्बामेट किटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाकी प्राविधिक अम्बिका बोहोराले बताउनु भयो । उहाँका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमुनामा भने ४४. ७६ प्रतिशत कार्बामेट भेटिएको छ।

तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने बोहोराले बताउनुभयो ।

विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट किटनाशक विषादीको मात्रा समेत उच्च पाइएको छ । अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ।

विर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक नगेन्द्र संग्रौलाले उपभोग अयोग्य पुष्टि भएका तरकारी तथा फलफूललाई नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषि थोक बजारकै क्वारेन्टाइनमा केही दिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताउनु भयो ।

केहीदिन अघि कृषि थोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुनेगरी विषादीको अवशेष पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।