काठमाडौं - पर्सा प्रहरीले भन्सार छलीको आशंकामा दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
बुधबार राति वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
लम्सालका अनुसार राति करिब १० बजे ना४ख ९८५१ र प्रदेश २-०३-००१ ख ६५५७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिक्षएको हो। वीरगन्जबाट काठमाडौं तथा विराटनगर हिँडेका ती ट्रकमा हार्डवेयर र औषधी लोड गरिएको थियो।
बिल बिजकभन्दा बढीको सामान लोड गरेको सूचना आएपछि नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको लम्सालले बताए। बिल बिजकभन्दा बढीको सामान आयात-निर्यातलाई तस्करीजन्य कार्य मानिन्छ।
ती ट्रकमा करिब दुई करोड ९ लाख ६ हजार ८४२ रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पर्सा प्रहरी तस्करी नियन्त्रणमा आक्रामक कारबाही गरिरहेको प्रहरी कार्यालय हो।