६ पुष २०८१, शनिवार

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा उत्कृष्ट कृषक, गृहिणी र राष्ट्रिय प्रतिभालाई सम्मान

२० मंसिर २०८१, बिहिवार
Image

धुलाबारी, २० मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले तीन जना उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले मेचीनगर-११ स्थित जालपा सामुदायिक भवनमा छैठौं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा विहीबार उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट कृषक मेचीनगर नगरपालिका-५ कि अनिताकुमारी कार्की, उत्कृष्ट गृहिणी बुद्वशान्ति गाउँपालिका-५ कि रेणुका संग्रौला चापागाईं र राष्ट्रिय प्रतिभा पुरस्कारबाट मेचीनगर नगरपालिका-७ का देबेन्द्र खरेल रहेका छन् । उनीहरू नगद जनही ३१ हजार रूपैयाँसहित सम्मान गरिएको हो ।


पुरस्कृत ५७ वर्षीया उत्कृष्ट कृषक कार्की शिक्षण पेशाबाट निवृत जीवनलाई सदुपयोग गर्दे परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारी खेतीलाई व्यवसायिक कृषिमा रुपान्तरण गर्नुभएको छ ।

यसैगरी, ४३ वर्षीया उत्कृष्ट गृहिणी चापागाईं आफ्ना सन्तानको पालनपोषण गर्ने, ज्येष्ठ नागरिकको स्याहार, उपचार र संरक्षणमा सदैव काम गरिरहनुभएको छ । वृद्व अवस्थाका दुवैजना क्यान्सर पीडित सासु र ससुराको नियमित उपचार, हेरचाह गर्नुभएको छ । 

राष्ट्रिय प्रतिभा खरेल मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष, वाइल्डलाइफ फोटोग्राफर, फोटो पत्रकार र सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले ३४० प्रकारका चराको खोज, ४७७ प्रकारका चराको तस्वीर खिचिसक्नुभएको छ । उहाँले मेचीनगर-७ मा नेपालमानै पहिलो पटक हरित परेवा चरा फेला पार्नुभएको थियो ।

सम्मानितहरुको सम्मान पत्र प्रतिष्ठानका सदस्य मोहनराज दाहालले बाचन गर्नुभएको थियो । प्रतिष्ठानले ८० वर्षमाथिका दुई जना दम्पत्तिलाई समेत नगदसहित सम्मान गरेको छ । मेचीनगर-११ का ८६ वर्षीय भिमप्रसाद चापागाई र ८८ वर्षीया विष्णुमाया चापागाई नगद एकहजार २ सय, खाद्यान्नसहित सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारीले यो कार्यक्रमले युवा वर्गहरुलाई पूर्खाहरुको सम्मान गर्नुपर्छ भन्ने पाठ सिकाएको बताउनुभयो । प्रतिष्ठानले सामज रुपान्तरणमा पुर्याएको यस्तो प्रकारको सम्मानको राज्यका लागि सन्देश पनि रहेको उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, वडा नम्बर ११ का वडाध्यक्ष रुद्र डाँगी, पत्रकार चन्द्र भण्डारी, सम्मानित व्यक्तित्वहरु देबेन्द्र खरेल, अनिताकुमारी कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेचीनगर-११ का भानु आधारभुत विद्यालयका विद्यार्थीहरुले आकर्षक नित्य समेत प्रस्तुत गरेका थिए । लाल भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ र सदस्य आशा बानियाँ उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मनोज बानियाँले,  सञ्चालन सचिव डम्बर देउजाले र धन्यवादसहितको समापन सदस्य उपेन्द्र बानियाँले गरेका थिए ।