३ पुष २०८१, बुधवार

मेचीनगरमा अपांगता पहिचानका लागि पन्ध्र दिने अभियान

२ पुष २०८१, मङ्गलवार
Image

झापा, १ पुस  मेचीनगरमा अपांगता भएकाहरुको पहिचान र परिचय पत्र वितरणका लागि नगरपालिकाले विशेष स्वास्थ्य शिविरसहित १५ दिने अभियान सञ्चालन गरेको छ ।

कोशी प्रदेशका खानेपानी, ऊर्जा तथा सिञ्चाई मन्त्री एकराज कार्कीले मेचीनगर वडा नं. १ को बाहुनडाँगीमा सोमवार एक कार्यक्रमबीच अभियानको उद्घाटन गर्नुभयो । उहाँले अपांगता भएकाहरुको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँगको सहकार्यमा स्वास्थ्य शिविर लगायतको अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

मेचीनगर नगरपालिकाले आगामी १५ दिनभित्रमा नगरका १५ वटै वडामा शिविर सञ्चालन गरी अपांगता भएकाहरुलाई परिचय पत्र वितरण गरिने जनाएको छ । प्रत्येक वडामा विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी र कर्मचारीको टोली खटाइएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनुभयो ।

शारीरिक अशक्त व्यक्तिलाई वडा तथा नगरपालिका धाउने झञ्झट नहोस् भनेर वडा तहमै शिविरको अयोजना गरिएको र यसबाट लक्षित वर्ग लाभग्राही हुने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । 

अपांगता भएका व्यक्तिहरुको पहिचान र वृहत्तर हितका लागि कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउन्डेसनबीच रु. एक करोड ४२ लाख सहयोग जुटाउने त्रिपक्षीय सम्झौता भएको जनाइएको छ ।

उक्त कार्यक्रमबाट मेचीनगरमा नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्वि, क्षमता अभिवृद्विमा सहयोग र प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।  

मेचीनगर क्षेत्रमा तीन हजार २७ जना अपाङ्गता भएका मानिसहरु रहेकोमा हाल एक हजार ७४४ जनाको मात्रै दर्ता रहेको छ । प्रत्येक वडामा एक÷एक दिन चल्ने शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्वीलचियर, कृत्तिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु समेत उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । 

शिविरमा आँखा, कान, मनोविद्, मेडिकललगायतका स्वास्थ्य परीक्षणका लागि बिशेषज्ञ डाक्टरहरु परिचालन गरिएका छन् । कार्यक्रममा करूणा फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले कार्यक्रमको औँचित्यमाथि प्रकाश पारेका थिए ।

नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्की लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेको उद्घाटन कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गर्नु भएको थियो ।

अभियानको दोस्रो दिन मंगलबार मेचीनगर वडा नं. २ को कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो ।