७ पुष २०८१, आइतवार

चार केजी गाँजा र तीन लाख नगदसहित युवती पक्राउ

७ पुष २०८१, आइतवार
Image

मेचीनगर, ७ पुस । बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा चार केजी प्रतिबन्धित लागु औषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले शनिवार मध्यराति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नेपाली रुपैयाँ तीन लाख छ हजार ८७० र भारतीय रुपैयाँ दुई हजार ३०० बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

लागु औषधको कारोवार भइरहेको सूचना पाएर प्रहरी टोली धिमालको घरमा पुगेको थियो । लागु औषधको कारोवार गरेको आरोपमा पक्राउ गरेर दुर्गा धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनुभयो ।

घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा समेत बरामद भएको प्रहरीले जनाएको छ । 

झापामा लागु औषधको कारोवार गरेको अभियोगमा शनिवार एकै दिन पाँच जना व्यक्ति विभिन्न स्थानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर-६ का ४१ वर्षीय रुपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ-४ का २४ वर्षीय रोदन लिम्बु र दमक-६ का २० वर्षीय नविन ठटाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपी नविन ठटाल र रोदन लिम्बुलाई प्रतिबन्धित लागु औषध खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित प्रहरीले दमकबाट नियन्त्रणमा लिएको थियो भने रुपेश पाख्रिन र डिकबहादुर मगरलाई मेचीनगरको काँकडभिट्टाबाट पक्राउ गरेको सूचना अधिकारी चन्दले बताउनुभयो ।