२४ पुष २०८१, बुधवार

‘मेची महोत्सव’लाई सफल बनाउन चेम्बरको आह्वान

२२ पुष २०८१, सोमवार
Image

झापा, २२ पुस । मेची चेम्बर अफ कमर्सले धुलाबारीमा आयोजना हुने दोस्रो ‘मेची महोत्सव’मा सहयोग पुर्याउन आह्वान गरेको छ ।

चेम्बरको मेचीनगर शाखाले माघ ४ देखि १२ गतेसम्म धुलाबारीको पुरानो चिया विकास निगम रहेको खाली जग्गामा ‘मेची महोत्सव’ आयोजना गर्दैछ ।

कृषि, व्यापार, उद्योग, पर्यटन, खेलकुद, संगीत लगायतको प्रबर्धन गर्दै स्थानीय युवा शक्तिलाई कुलतमा लाग्नबाट जोगाउन महोत्सवको आयोजना गरेको चेम्बर्सका अध्यक्ष रविन बस्नेतले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । 

उहाँले महोत्सवलाई सफल बनाउन मेचीनगर नगरपालिका, स्थानीय उद्योगी, व्यवसायी, सचेत नागरिक एवम् पत्रकार जगतलाई आह्वान गर्नुभयो ।

“धुलाबारी मोडदेखि खयरडाँगीसम्म मात्रै हेर्यो भने पनि ५०० भन्दा बढी युवा लागू पदार्थको कुलतमा फँसेका छन्,” उहाँले भन्नुभयो–“देशभित्र युवाका लागि रोजगारीको सम्भावना छैन । गरिखाने उपाय छैन । उनीहरुको समस्या सुनिदिएर समाधान खोजिदिने कोही छैन । यस्तो विकराल अवस्थामा हामीले युवा वर्गमा आशा जगाउन महोत्सवको आयोजना गर्न लागेका हौं ।”

चेम्बरका महासचिव प्रकाश खड्काले महोत्सवमा ३६ वटा स्टल हुने र महोत्सव सञ्चालनमा रु. छ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

लागतमध्ये रु. अढाई लाख संस्था आफैले खोज्ने र मेचीनगर नगरपालिकाबाट रु. तीन लाख सहयोग प्राप्त हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

चेम्बरका वाणिज्य उपाध्यक्ष शान्तिराम चिमरियाले महोत्सवमा साविक मेची अञ्चलका चारै जिल्लाका कृषि, घरेलु तथा औद्योगिक उत्पादन विक्रीका लागि राखिने बताउनुभयो ।

अर्का उपाध्यक्ष भीम कुँवरले खेलकुद र सांगीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रममा प्रस्तुति दिने र महोत्सवमा स्वास्थ्य शिविरको समेत आयोजना गरिने उहाँले बताउनुभयो ।