झापा, २४ पुस । नेपाली कांग्रेसले नेपालकै होचो भूभाग कचनकबलबाट संसारकै अग्लो सगरमाथाको जिल्ला पुग्ने छ महिने राजनीतिक अभियानको आज शुभारम्भ गरेको छ ।
अभियानलाई ‘कचनकवल–सगरमाथा जागरण अभियान’ नाम दिइएको छ । कचनकबलस्थित होचो भूभागको स्तम्भ नजिक आयोजित कार्यक्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्तिको प्रतिक परेवा उडाएर अभियानको उद्घाटन गर्नु भयो ।
कार्यक्रमको आयोजना पार्टीको कोशी प्रदेश समितिले गरेको हो । कोशी प्रदेश समितिका सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
अभियान छ महिनासम्म चल्ने र प्रदेशका १४ वटै जिल्लामा पार्टी सुदृढीकरणका कार्यक्रमहरु सञ्चालन हुने थापाले बताउनु भएको छ ।
अभियान क्रममा संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार तथा जलवायु परिवर्तनको प्रभाव र पहिचान गरिने उहाँले जानकारी दिनुभयो ।
चिसो मौसमको समेत पर्वाह नगरी कांग्रेसका नेता तथा कार्यकर्ता अभियान उद्घाटनस्थल कचनकबल स्तम्भमा पुगेका थिए ।