झापा, २५ पुस । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बुद्धशान्ति गाउँपालिका वडा नं. ६ टिमाई नदीमा नवनिर्मित ‘कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुल’को उद्घाटन गर्नु भएको छ ।
बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने उक्त पुल ४७७ मिटर लामो रहेको छ । यो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा लामो र नेपालकै तेस्रो लामो झोलुङ्गे पुल हो ।
संघीय सरकारको रु. पाँच करोड ९८ लाख ७६१ को लागतमा थानी जगदम्बा जेभीले पुलको निर्माण सम्पन्न गरेको हो । शिलान्याश भएको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको उक्त पुलको शिलान्यास महामन्त्री शर्माले नै वि.सं. २०८१ असार २४ गर्नु भएको थियो ।
पुलको उद्घाटन गर्दै महामन्त्री शर्माले वर्षौदेखि आवागमनमा सकस भोगिरहेका बुद्धशान्तिको वडा नं. ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर विक्री गर्न समेत पुलको निर्माणले सहज भएको बताउनुभयो ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले पुल रहेको स्थान आकर्षक भौगोलिक बनावटका कारण रमणीय भएकाले नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको जनाउँदै दैनिक पाँच सयभन्दा बढी पर्यटक आउन थालेको बताउनुभयो ।
उहाँका अनुसार कोशी प्रदेशकै लामो झोलुङ्गे पुलको फोटो र भिडियो खिच्न टाढादेखि पर्यटक आउन थालेको हुँदा पुलको वारिपारि पर्यटकीय सुविधाका लागि आवश्यक पूर्वाधार निर्माणमा पालिकाले ध्यान दिने बताउनुभयो ।
पुलमा अचानक घुइँचो बढेपछि पालिकाले नगरप्रहरी परिचालन गरेर पुलमा ओहोरदोहोर गर्ने यात्रुको व्यवस्थान गरिरहेको छ । उद्घाटनका दिन यात्रुको चाप बढेको हुँदा पालो गरेर मात्र ओहोरदोहोर गर्न दिइएको थियो । उक्त झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन र एकपटकमा ६४७ जना पदयात्रीको भार पुलले थेग्ने क्षमता रहेको छ ।
पुलको रहेको स्थान वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडा लगायतका पर्यटकीय स्थल रहेका कारण पुलमा आउने पर्यटक बढेको वडा नं. ६ का अध्यक्ष शिवराज पौडेल बताउनुहुन्छ ।