२६ पुष २०८१, शुक्रवार

विदेशबाट भर्चुअल बहस गर्ने पहिलो अधिवक्ता बने पराजुली

२५ पुष २०८१, बिहिवार
Image

भद्रपुर, २५ पुस । अधिवक्ता मणि पराजुली विदेशबाट अदालतमा भर्चुअल वहस गर्ने पहिलो नेपाली हुनु भएको छ ।

उहाँले अस्ट्रेलियाको सिड्नीबाटै अनलाइन प्रविधिको प्रयोग गरेर नेपालको अदालतमा पुस २४ गते बहस गर्नु भएको हो । पुनरावेदन अदालतको इलाम इजलासमा अधिवक्ता पराजुलीले एउटा मुद्धाको वहस गर्नु भएको हो ।

विदेशमा रहेको बेला प्रविधिको प्रयोगबाट बहस भएको नेपालको अदालती इतिहासमा पहिलो घटना भएको नेपाल वार एसोसिएसनका पूर्व उपाध्यक्ष अशोक पोखरेलले बताउनुभयो ।

‘हामीले सर्वोच्च अदालतलाई अनलाइन प्रविधि प्रयोग गरेर विदेशबाट बहस गर्ने अनुमति दिन पटकपटक आग्रह गर्दै आएका थियौं,’ पोखरेलले भन्नुभयो–‘मणिजीले सिड्नीबाट बहस गर्नुभयो । नेपालको अदालत उच्च स्तरको सूचना प्रविधि प्रयोग गर्न सक्षम छ भन्ने सकारात्मक सन्देश भएको प्रवाह छ ।’

भद्रपुर वडा नं. ९ निवासी अधिवक्ता पराजुली हाल सिड्नीमा कामकै सिलसिलामा हुनुहुन्छ । इलामको पुनरावेदन अदालतमा उहाँले न्यायाधीश रेखा थापा पाण्डे र काजीबाहादुर राईको इजलासमा अनलाइन वहस गर्नु भएको हो ।

वहसका लागि अदालतले अनलाइन भिडियो कलका लागि प्राविधिक व्यवस्था मिलाएको थियो । उहाँले प्रतिवादीको तर्फबाट वहस गर्नु भएको थियो ।

बार एसोसिएसन झापाका अध्यक्ष नारायणप्रसाद भट्टराईले भर्चुअल वहसको प्रयोग झापा जिल्ला अदालतमा विगत एक बर्षदेखि अभ्यास भइरहेको भए तापनि अन्तर्राष्ट्रिय स्तरबाट भने पराजुलीले गर्नु भएको बहस पहिलो भएको बताउनु भयो ।