२६ पुष २०८१, शुक्रवार

संसद्को हिउँदे सत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे

२६ पुष २०८१, शुक्रवार
Image

झापा, २६ पुस  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को यही हिउँदे सत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताउनु भएको छ ।

उहाँले विहीवार अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित जनता माध्यमिक विद्यालयको ६९ औ. वार्षिकोत्सव कार्यक्रममा बोल्दै विद्यालय विधेयक पारित भएपछि शिक्षा क्षेत्रका समस्याहरु हल हुने विश्वास व्यक्त गर्नुभयो ।

“राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन आइसके पनि शिक्षामा पुरानै ऐनबाट काम चलाउनु परेको छ,” उहाँले भन्नुभयो–“संसद्को यही हिउँदे सत्रमा नयाँ शिक्षा सम्बन्धी ऐन पारित गर्न हामी सबैको कोशिस हुनेछ ।”

उहाँले शिक्षा नीतिमा एक्काइसौं शताब्दी र विद्यमान परिस्थितिलाई सुहाउने किसिमको सुधारको खाँचो रहेको जनाउँदै समाजलाई अग्रगतिमा लैजाने माध्यम नै शिक्षा भएको बताउनुभयो । 

शिक्षामा राज्यले अपेक्षा अनुसार लगानी गर्न नसकेको र विद्यार्थीहरुले चाहे अनुसार पढ्न नपाइरहेको बताउँदै उहाँले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी दिन र विद्यालयको भौतिक पूर्वाधारमा पर्याप्त बजेट उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।

गृहजिल्ला झापाको विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे विहीवार काठमाडौंबाट आउनु भएको हो । झापा क्षेत्र नं. २ का निर्माणाधीन सडक, सामुदायिक बन र विपद् व्यवस्थापनका पूर्वाधारहरुको प्रगतिको अनुगमन र हात्ती प्रभावित बासिन्दासँग छलफल गर्ने कार्यक्रमका लागि उहाँ आउनु भएको सभामुखको स्वकीय सचिव केशवराज ढुंगेलले जानकारी दिनुभयो ।