झापा, २६ पुस । नेपालका लागि बंगलादेशका कार्यवाहक राजदूत मोहम्मद हुमायुम कविरले कृषि, व्यापार, पर्यटन, ऊर्जा र लगानीका क्षेत्रमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताउनु भएको छ ।
नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सले विहीवार मेचीनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत कविरले नेपाल र बंगलादेश असल मित्र भएकाले आर्थिक सम्बन्ध विस्तारका लागि दुबै मुलुकले सम्भावनाका क्षेत्रहरु पहिल्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले बंगलादेशको राजधानी ढाकाबाट सोझै पोखरामा हवाई उडान विस्तार गर्न, नेपालको जलविद्युत अझ बढी मात्रामा खरिद गर्न र लगानीका नयाँ क्षेत्रहरु खोज्न बंगलादेश सरकार तयार रहेको बताउनुभयो । उहाँले व्यापार बढ्दा दुबै देशले लाभ पाउने हुँदा यसका लागि गृहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
व्यापार सहजिकरणका लागि दुबै देशको वाणिज्य मन्त्रालयस्तरमा उत्पादित बस्तुको सूची तयार पार्ने कार्य भइरहेको जनाउँदै उहाँले विश्व व्यापार संगठन र सार्क स्तरको व्यापार सहमति अनुरुप सहज रुपमा एक देशको उत्पादन अर्को देशमा पुग्ने वातावरण बनाउनु पर्ने बताउनुभयो ।
उक्त छलफलमा सहभागी नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक पन्नालाल जैन, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, चेम्बर अफ ट्रेडर्सकी सदस्य शर्मिला पाठक लगायतले नेपाल र बंगलादेश निकट छिमेकी भएर पनि अपेक्षा अनुरुप आर्थिक कारोवार हुन नसकेको धारणा व्यक्त गर्दै दुबै देशले निर्यात र आयात हुने बस्तुलाई भन्सारमा विशेष सहुलियत दिनुपर्ने माग गर्नुभयो ।
नेपालका कृषि तथा जडिबुटीजन्य बस्तु, प्लाइउड तथा भेनियर बस्तु, विद्युत, हिमालयन पेयजल, ढुंगागिटी लगायतका बस्तुको बंगलादेशमा उच्च माग रहेको उल्लेख गर्दै नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका अध्यक्ष क्षेत्रीले व्यापारिक सहजिकरणका लागि पूर्वीनाकामा बंगलादेशले कन्सुलर कार्यालय स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।
छलफल क्रममा नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक पन्नालाल जैनले भौगोलिक रुपमा नजिक रहेको बंगलादेशको साहिदपुर र झापाको चन्द्रगढी विमानस्थलबीच हवाई उडानको व्यवस्था भएमा पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
उहाँले नेपालको अलैची, अम्लिसो, अदुवा, प्लाइउड र भेनियर बंगलादेशमा सोझै निर्यात गर्नका लागि नेपाली व्यवसायीहरु इच्छुक रहेको जानकारी दिनुभयो ।
नेपालका लागि बंगलादेशी कार्यवाहक राजदूत कविर राजदूताबासका प्रथम सचिव एएसएम सादिकसहित विहीवार झापा आउनु भएको हो । उहाँले शुक्रवार मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयमा आयोजना हुने छलफलमा सहभागी हुने कार्यक्रम रहेको जैनले जानकारी दिनुभयो ।