झापा, २६ पुस । एसियन हाइवेमा पुल र कर्ल्भट निर्माणलाई पहिलो प्राथमिकतामा राखेर निर्माण कार्य तीब्र बनााइएको छ । उक्त सडक खण्डको पूर्वी भाग काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर क्षेत्रको निर्माण प्रगति १० दशमलव पाँच प्रतिशत भइसकेको एशियाली विकास बैंक आयोजना दमकका प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल सडकमा माटो भर्ने, कर्ल्भट र पुल निर्माणका काममा धमाधम भइरहेको छ । एशियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।
पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालीका जेभीले कर्ल्भट र पुल निर्माणलाई तीब्रता दिएको उहाँले बताउनुभयो । हालसम्म १४३ वटा कल्भर्ट मध्येको सडक दायाँबायाँमा ९३ वटा कर्ल्भटका काम सम्पन्न भइसकेको र १८ वटा साना पुलमध्ये १७ वटाको निर्माण तीब्र रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
विर्तामोडको चोकमै रहेको अदुवा खोलाको पुलको काम भने दुई महिनापछि मात्र सुरु गरिने उहाँले बताउनुभयो । अन्य पुलको जमिनमा फाउण्डसेन पाइलिङ, पाइल क्याप र पिलर क्याप लगाउने काम धमाधम भइरहेको छ । जसमध्ये कमल खोलाको पुलमा भने जेड पाइलको काम पाँच वटा भइसकेको उहाँको भनाई छ ।
“ठेक्का पाएको कम्पनीको काम सन्तोषजनक छैन”, उहाँले भन्नुभयो, “मंसिर पुसमा प्रति महिना चार प्रतिशत दरले कामको प्रगति हुनुपर्थ्यो भएन । चाडो गर्न निर्देशन दिइरहेका छौं ।” एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु. ३४ अर्ब ९० करोड रकममा सडकसहित कर्ल्भट र साना पुलका ठेक्का लगाइएको हो ।
कनकाई, विरिङ्ग र निन्दा खोलाका पुलको ठेक्का अर्कै कम्पनीले लिएको छ । सो पुलहरुमा समेत फाउण्डेसन पाइलिङको काम भइरहेको छ । उहाँले सडकमा माटो भर्ने काममा समस्या भइरहेको बताउनुभयो ।
आवश्यकता अनुसारको माटो सहज नपाउँदा समस्या भएको उहाँको भनाई छ । उहाँले हाल सञ्चालनमा आइरहेको बीच सडकको कर्ल्भट भने सडकसँगै निर्माण गर्ने योजना रहेको सुनाउनुभयो ।
पुल र कर्ल्भट निर्माणपछि सडकको काम गर्न छिटो र सजिलो हुने हुँदा पहिलो प्राथमिकतामा राखेर काम गरिएको उहाँको भनाई छ ।