१० फागुन २०८१, शनिवार

अनुदानमा चाफकटर पाएर विर्तामोडका किसान हर्षित

१० फागुन २०८१, शनिवार
Image

झापा, १० फागुन । विर्तामोड नगरपालिकाले पशुपालक किसानहरुलाई रु. ९५ लाख मूल्य बराबरको ३२५ वटा चाफकटर मेसिन वितरण गरेको छ ।

पालिकाले छनौटमा परेका किसानलाई ५० प्रतिशत अनुदानमा चाफकटर मेसिन वितरण गरेको हो । गाईवस्तुलाई खुवाइने घाँस थोरै समयमा धेरै टुक्राउन सकिने मोटर जडान गरिएको विद्युतीय चाफकटर पाएर स्थानीय किसान हर्षित भएका छन् ।

किसानहरुलाई प्रविधिमैत्री बनाउँदै कृषिलाई आधुनिक र व्यावसायिक बनाउने सोच अनुसार साझेदारीमा मेसिनरी सामानहरु दिइएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले बताउनुभयो । उहाँका अनुसार कृषिको विकासलाई नगरपालिकाले बजेटमा उच्च प्राथमिकतामा राख्दै आएको छ ।

निर्वाहमुखी कृषिलाई व्यावसायिक उद्यममा रुपान्तरण गर्दै किसानलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको ठानेरै नगरपालिकाले पशुपालक किसानहरुलाई चाफकटर मेसिन, चिलिङ भ्याट, दाना पिसाउने मेसिन, मिल्क क्यान, चल्ला ओथार्ने मेसिन, काउ म्याट लगायतका सामग्री हरेक वर्ष वितरण गर्दै आएको विर्तामोडका पशुपंछि तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काले बताउनुभयो ।

उहाँका अनुसार एउटा चाफकटर मेसिनको मूल्य रु. २९ हजार ५०० रहेको छ । किसानहरुले मूल्यको ५० प्रतिशत साझेदारी गरेका छन् । उहाँले भन्नुभयो–“चाफकटर मेसिन २५ जटा भर्खरै वितरण गरेका छौं । यसअघि ३०० वटा मेसिन वितरण गरेका थियौं ।”

नगरपालिकाले साझेदारीमा दिएको मेसिनरी सामानको सदुपयोग भइरहेको कृषक लयप्रसाद रिजालले बताउनुभयो । “नगरपालिकाले किसानहरुलाई आधुनिक प्रविधि भित्राउन प्रोत्साहन र अनुदान दिइरहेको छ,” उहाँ भन्नुहुन्छ–“सबै किसान साथीहरुले सहयोगको सदुपयोग गर्नु भएको छ । मेसिनसँगै तालिम र शिप पनि किसानहरुले पाउनु भएको छ ।”

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर चाफकटर चाहिएका किसानहरुबाट निवेदन मागेको थियो । मागभन्दा धेरै निवेदन पर्ने गरेका कारण स्थलगत अनुगमनपश्चात अनुदान पाउनयोग्य किसानको छनौट हुने गरेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डा. खड्काले बताउनुभयो ।