झापा, ७ भदौ । अर्जुनधारा नगरपालिका वडा नं. ६ कप्तानबाडीस्थित अपांग बाल शिक्षा सरोकार केन्द्र चरम आर्थिक संकटबाट गुज्रिएको छ । केन्द्रमा अभिभावकविहीन बालबालिकाहरुको भरणपोषण दातामा निर्भर छ ।
उक्त केन्द्रमा रहेका पाँच वालिकासहित १४ जना बालबालिकाका लागि मासिक रु. ६५ हजारभन्दा बढी खर्च हुँदै आएको केन्द्रका अध्यक्ष कृष्ण दुलालले बताउनुभयो । केन्द्रसँग बालबालिकाको भरणपोषण, शिक्षा र स्वास्थ्य सुविधाका लागि कुनै दीगो आर्थिक स्रोत छैन ।
“दाताहरुले दयापूर्वक दिने अन्नपानी र जिन्सी सहयोग नै बालबालिकाहरुको बाँच्ने आधार हो,” अध्यक्ष दुलालले भन्नुभयो– “अपुग साधन र स्रोत मागेर व्यवस्थापन गर्दै आएका छौं ।”
वि.सं. २०६९ मा स्थापना भएको केन्द्र स्थानीय गंगानाथ बाँस्तोलाले निःशुल्क दिनु भएको पाँच कठ्ठा जग्गासहितको पुरानो घरमा सञ्चालन हुँदै आएको छ । जग्गा र भवनको भाडा तिर्नु नपर्दा केन्द्रको ठूलो भार हलुका भएको छ ।
केन्द्रका चार जना बालबालिका शौचालयमा आफै जान नसक्ने अवस्थाका शारीरिक अशक्त छन् भने कतिपय ह्वीलचियर र बैशाखीको सहायतामा हिँडडुल गर्छन् । दाताहरुले जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृको स्मृति आदिका अवसर पारेर खानेकुरा दिने गरेका छन् ।
आश्रित बालबालिकाको नियमित हेरचाह र भान्सा सम्हाल्नका लागि तीन जनालाई थोरै पारिश्रमिक दिएर काममा लगाउने गरिएको अध्यक्ष दुलालले बताउनुभयो । अर्जुनधारा नगरपालिकाले मासिक रु. पाँच हजार सहयोग दिने बाहेक संस्थाको अरु नियमित आय छैन ।
“विहान खुवायो भने बेलुकी के खुवाउने होला भन्ने चिन्ता हुन्छ,” केन्द्र चरम आर्थिक संकटबाट गुज्रिरहेको जनाउँदै उहाँ भन्नुहुन्छ– “दाताले चामल र दाल ल्याउने गरे तापनि दैनिक रुपमा तरकारी किन्नु परेको छ । हेरालु राखेकाहरुलाई मागेरै ल्याएको पैसाले जसोतसो तलब खुवाउँदैछौं ।”
केन्द्रका अधिकांश बालबालिका तीन किलोमिटर टाढा रहेको शनिश्चरे माध्यमिक विद्यालयमा पढ्ने गरेका छन् । केन्द्रले भाडाको टेम्पो चढाएर बालवालिकालाई विद्यालय ओहोरदोहोर गराउँदै आएको छ ।
एसइइ पढिरहेका साहिल मर्डी सतार र कक्षा ८ मा पढ्दै गरेकी अमृता लिम्बु केन्द्रका बढी उमेरका बालबालिका हुन् । अरु बालबालिका कक्षा १ देखि ७ सम्म पढ्ने गर्छन् । साहिल र अमृताले सोही केन्द्रमा आश्रय लिएर कक्षा १ देखि नै अध्ययन गर्दै आएका छन् ।
केन्द्रमा बिजुली र पानीको बिल मासिक चार हजारसम्म आउने गरेको छ । लुगाफाटो पनि किनेरै ल्याउन परेको अध्यक्ष दुलालले बताउनुभयो । मनोरञ्जनका लागि केन्द्रमा एउटा टेलिभिजन सेट छ भने शारीरिक अशक्तका लागि तीन वटा ह्वीलचियर छ ।
“अर्जुनधारा नगरपालिकालाई प्रति व्यक्ति रु. एक हजारका दरले मासिक सहयोग उपलब्ध गराइदिन अनुरोध गरेका छौं,” उहाँले भन्नुभयो– “बिजुली, पानी, टेम्पो, लुगाफाटा, तरकारी आदिको खर्च जुटाउन माग्न नहिँडी उपाय छैन ।” धाराको पानीले नपुग्ने भएपछि केन्द्र परिसरमा एउटा ट्यूबवेल प्रयोगमा ल्याइएको छ । उहाँले ट्यूबवेलबाट ट्यांकीमा पानी तान्नका लागि एउटा विद्युतीय मोटरको खाँचो परेको बताउनुभयो ।
चौध जना बालबालिकामध्ये चार जनाले शारीरिक अपांगताको आधारमा सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । उपचारका लागि विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले सहयोग पुर्याउँदै आएको छ । बालबालिकाको व्यवस्थापनका लागि दीगो आर्थिक स्रोत र आफ्नै भवन बनाउन जग्गा आवश्यक रहेको अध्यक्ष दुलाल बताउनुहुन्छ ।