झापा, ९ असोज । अर्जुनधारा नगरपालिका वडा नं. ९ स्थित नेपालकै एक मात्र कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ ।
सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । भदौ २४ गते जेनजी आन्दोलनकारीबाट प्रतिष्ठानको विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चार वटा कछुवा चोरी भएको हो ।
आन्दोलनकारीले प्रतिष्ठानको मुख्य कार्यालयसहित त्यहाँको पर्यटकीय पूर्वाधारहरुमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट रु. ७० लाख बराबरको क्षति भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुबेदीले बताउनुभयो ।
प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकहरुका लागि मुख्य आकर्षण बन्दै आएको छ । पर्यटकहरु नौका विहार, शहीद प्रतिमाको अवलोकन, झोलुंगे पुल र फाउन्टेन पार्क हेर्न र बनभोजका लागि आउने गर्छन् ।
आन्दोलनकारीले प्रतिष्ठानको हाताभित्र रहेको कार्यालय, डुंगा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी गरेका थिए भने प्रहरी चौकी, शहीद प्रतिमा र क्यान्टिन लगायतका संरचनामा तोडफोड गरेको सुबेदीले जानकारी दिनुभयो ।
“केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ,” उहाँले भन्नुभयो– “चार वटा कछुवा चोरी भएको पाइयो ।” प्रतिष्ठानले हाल ध्वस्त संरचनाको भग्नावशेष पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
यहाँ अवलोकन र अनुसन्धानका लागि वर्षेनी दुई लाख पर्यटक भित्रिने गरेका छन् । भदौ २४ गतेको घटनापछि घुमफिरका लागि आउने पर्यटकलाई अस्तव्यस्त अवस्थाका कारण प्रवेश दिइएको छैन । पर्यटकमा निर्भर प्रतिष्ठान हाता बाहिरका ५० भन्दा बढी पसल र रेस्टुरेन्टहरु हाल सुनसान रहेका छन् ।
सन् २०१२ मा उभयचर वैज्ञानिक डा. केआर खम्बुको प्रेरणामा यहाँ कछुवा संरक्षण केन्द्र स्थापना गरिएको थियो । देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् जीव विज्ञानका विद्यार्थीहरु अनुसन्धानका लागि केन्द्रमा आउने गरेका छन् । स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवालाई यहाँ ल्याएर संरक्षण गरिदै आएको छ ।