११ कार्तिक २०८२, सोमवार

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपील

११ कार्तिक २०८२, सोमवार
Image

झापा, १० कात्तिक । लगातारका चाडपर्व र विपद्का कारण झापामा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । 

जिल्लामा रहेका छ वटा रक्तसञ्चार केन्द्रमा हाल दुई सय पिन्ट मात्र रगत मौज्दात रहेको हुँदा रक्तदान गर्न सक्ने व्यक्तिहरु र संघसंस्थालाई रगत दान गरेर सहयोग गरिदिन नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले राससमार्फत आग्रह गर्नुभएको छ । 

“रक्तसञ्चार केन्द्रमा रगतको स्टक ज्यादै कम भइसकेको छ,” उहाँले भन्नुभयो, “जिल्लाका अस्पतालहरुमा मिर्गौलाको डायलाइसिस गर्ने र अन्य विरामीका लागि मात्र दैनिक एक सय पिन्ट रगत चाहिन्छ । हामीसँग दुई दिनलाई पुग्ने रगत छ ।” उहाँले दशैं, तिहार, छठलगायतका चाडपर्व र असोज १८ देखि २० गतेसम्मको बर्षाका कारण निम्तिएको विपद्ले रक्तदान कार्यक्रम हुन नसक्दा जिल्लामा रगतको अभाव भएको बताउनुभयो । 

उहाँले जिल्लामा रगतको माग उच्च देखिएको बताउँदै १८ बर्षमाथिका रक्तदान गर्न योग्य व्यक्तिलाई नजिकै रहेका रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रगत दान गर्न आग्रह गर्नुभयो । “रगत माग्ने, खोज्ने मात्र होइन”, उहाँले भन्नुभयो, “आफूले पनि रक्तदान गर्ने गरौं र विरामीलाई रगत लिन जाँदा जुनसुकै रक्त समूहको भए पनि दुई तीन जना व्यक्ति रक्तदानका लागि लिएर जाने गरौं ।”

अध्यक्ष ढकालले रगत लिनका लागि सिफारिस र भनसुन आवश्यक नपर्ने स्पष्ट पार्दै रक्तसञ्चार केन्द्रमा जो पहिला पुग्यो उसैले रगत पाउने समेत बताउनुभयो । उहाँले रगत चाहिने विरामीका आफन्तलाई कार्यालयमा सबै रक्त समूहका हजारौं दाताहरुको सम्पर्क नम्बर रहेको हुँदा आफैं सम्पर्क गरेर दाता खोज्न समेत अनुरोध गर्नुभएको छ । 

उहाँले जिल्लामा रगत अभाव भएको हुँदा सबै संघसंस्थाहरुलाई रक्तदान कार्यक्रमको आयोजना गर्न अपील गर्नुभएको छ । जेनजी आन्दोलनका बेला नेपाल रेडक्रस सोसाइटी झापाले एक हजार ५०० पिन्ट रगत काठमाडौं पठाएको उहाँले बताउनुभयो ।