७ वैशाख २०८३, सोमवार

मेची उद्योग वाणिज्य संघ : को को छन् अध्यक्षको दावेदार ?

७ वैशाख २०८३, सोमवार
Image

मेचीनगर, ७ बैशाख । मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि चुनावको मिति नजिकिएसँगै उम्मेद्वारहरुको चर्चा गर्माउन थालेको छ ।

लोकतान्त्रिक र बामपंथी प्यानलबीच बिगतमा चुनावी प्रतिष्पर्धा हुँदै आएको भए तापनि यसपाली राष्ट्रिय राजनीतिमा उदाएका नयाँ शक्तिहरुको प्यानलले कडा टक्कर दिने सम्भावना छ ।

कार्य समितिका अध्यक्ष खेमराज प्रसाई दोहोरिने आकांक्षाका साथ चुनावमा होमिने तयारी गरिरहेको बुझिएको छ भने कार्य समितिका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर) र उपाध्यक्ष भूमि पौडेलले अध्यक्षको उम्मेद्वार बन्ने बताउँदै आउनु भएको छ ।

अध्यक्षका सम्भावित उम्मेद्वार ठानिएका ध्रुव कनालले वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ भने नयाँ इतिहास रच्नेगरी महिलालाई अध्यक्षको उम्मेद्वार बनाउनु पर्ने आवाज पनि उठेको छ ।

बिगतमा कांग्रेस र एमाले खेमाको दवदवा रहे तापनि रास्वपा, श्रम संस्कृति पार्टी लगायतका राजनीतिक शक्तिहरुले यो चुनावलाई व्यावसायिक क्षेत्रमा आफ्नो प्रभाव परीक्षण गर्ने अवसरको रुपमा लिने भएका छन् । 

अध्यक्षका सम्भावित उम्मेद्वार खेमराज प्रसाई नेकपा एमाले निकट व्यवसायी हुनुहुन्छ भने कपिल क्षेत्री र भूमि पौडेल नेपाली कांग्रेस निकट व्यवासायी हुनुहुन्छ । रास्वपाले अध्यक्षमा उठाउने उम्मेद्वारका बारेमा बाहिर सार्वजनिक नगरी भित्रभित्रै तयारी गरिरहेको बुझिएको छ ।

जेनजी आन्दोलनपछि प्रसाई र क्षेत्रीले नेकपा एमाले र नेपाली कांग्रेसको औपचारिक उम्मेद्वार बनेर चुनावमा होमिन नचाहेको समेत स्रोतहरुले बताएका छन् । उहाँहरु स्वतन्त्र रुपमा उम्मेद्वार उठ्ने र पार्टीको औपचारिकतामा बाँधिन नचाहेको बताइन्छ ।

मेची उद्योग वाणिज्य संघमा माओबादी र एकीकृत समाजबादीको एकतापछि गठन भएको नेकपा र राप्रपाको शक्ति पनि बलियो रहँदै आएको छ । ती दलहरु कांग्रेस–एमालेको गठबन्धनतिर भन्दा रास्वपा र श्रम संस्कृति पार्टीको नयाँ गठबन्धनतिर आकर्षित हुने बढी सम्भावना छ ।

बिगतमा नेकपा एमालेको समर्थनमा संघको अध्यक्ष भइसक्नुु भएको ऋषिराज तिम्सिना हाल रास्वपाको डिसिजन मेकरको रुपमा हुनुहुन्छ । उहाँकै नेतृत्वमा मेचीनगरमा व्यावसायिक क्षेत्रमा पकड बनाउन रास्वपा गहन छलफल र तयारीमा जुटिरहेको छ ।

एक्लै सम्भव नहुने भएकाले कांग्रेस र एमालेलाई बाहिर राखेर आफ्नो नेतृत्वमा नयाँ गठबन्धन बनाउन रास्वपा जुटिरहेको बुझिएको छ । हिजो कांग्रेस र एमालेमै रहेका प्रभावशाली व्यवसायीलाई नै आफुतिर तानेर अध्यक्षको उम्मेद्वार बनाउने रणनीतिक चाल समेत रास्वपाले चालिरहेको स्रोतको दावी छ । 

चुनाव आगामी वैशाख २६ गते धुलाबारीमा हुने निश्चित भएको छ । तीन वर्षे कार्यकालका लागि १६ जनाको नयाँ कार्यसमिति बन्नेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष (उद्योग, बाणिज्य र महिलासमेत), महासचिव र १० जना सदस्य गरी जम्मा १६ जनाको कार्यसमिति रहने विधानमा व्यवस्था छ ।