२९ कार्तिक २०८३, शनिवार

हात्ती आतंक रोक्न नयाँ विद्युतीय तारबार र ट्याक्टर परिचालन गर्न माग

२९ कार्तिक २०८३, शनिवार
Image

झापा, २८ कात्तिक । चार दशकदेखि जंगली हात्तीबाट व्यापक जनधनको क्षति व्यहोरिरहेका मेचीनगरबासीले नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई जोड दिनुपर्ने माग गरेका छन् ।

हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रवार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् ।

मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक रहेको बताउनुभयो । 

उहाँका अनुसार भारतबाट दैनिक करिब एक सयको संख्यामा आउने हात्तीको बथानलाई स्थानीयले रातभर गस्ती गरेर मेची बगरमै रोक्ने प्रयास गरिरहेका छन् । “बाहुनडाँगीको विभिन्न गौडाबाट छिर्ने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्याइरहेको छ”– उप्रेतीले भन्नुभयो ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीहरू गाउँबस्तीतिर सोझिन थालेको उल्लेख गर्दै पूर्वी सीमा क्षेत्रमा बलियो विद्युतीय घेराबेरा लगाउनुपर्नेमा राज्यले जोड दिनुपर्ने बताउनुभयो ।

धानबाली पाक्ने समयमा हुल बाँधेर आउने हात्तीलाई सीमामै रोक्न पछिल्लो समय समितिले ट्याक्टरको प्रयोग गरिरहेको छ । स्थानीय राजु दाहालले ट्याक्टरको आवाजले हात्ती तर्सिने भएकाले बाली भित्राउने सिजनमा हरेक गौंडामा कम्तीमा दुईवटा ट्याक्टर परिचालन गर्न सुझाव दिनुभयो । 

हात्ती नियन्त्रण गर्न परिचालित स्वयम्सेवी युवा समूह (आरआरटी)का अगुवा न्युटन कार्कीले सडक नभएका खेतबारीमा समेत लैजान सकिने भएकाले हात्ती धपाउन ट्याक्टर निकै प्रभावकारी देखिएको बताउनुभयो ।

स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबीच साझा दृष्टिकोण र कार्ययोजना आवश्यक रहेको बताउनुभयो । 

स्थानीयको मागबमोजिम नयाँ योजनाका साथ काम अघि बढाइने प्रतिबद्धता जनाउँदै उहाँले सीमा क्षेत्रमै हात्ती रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिनुभयो ।