८ वैशाख २०८१, शनिवार

प्रतिबन्धित चिट्ठा सीमामा खुलेआम बिक्री, प्रहरी मुकदर्शक

१८ माघ २०७९, बुधवार
Image

झापा, १८ माघ । प्रहरीले चासो नदिएको कारण प्रतिबन्धित भारतीय चिट्ठा नेपालको सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ ।

भारतको पश्चिम बंगाल, सिक्किम, नागालैण्डका प्रतिबन्धित चिट्ठाहरु झापाको सीमावर्ती नाका भद्रपुरको मुख्य बजार र पुरानो नगरपालिका कार्यालय नजिक, बिर्तामोड स्थित भद्रपुर रोडको बस स्टेन्ट, धुलाबारीको पुरानो हङकङ बजार, काँकरभिट्टाको बसपार्क, सुपाडी लाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, भन्सार कार्यालय र इप्रका पछाडी, ट्याक्सी स्टेन्ट छेउछाउ, सतिघट्टा रोड लगायतका ठाउँहरुमा बिक्री भइरहेको छ ।

नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोबार बढेसँगै नेपाली जनताको दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम भारत गइरहेको छ ।

नेपाल–भारतको सीमा नाका सिलीगुढी, नक्सलबाढी र पानीट्याङ्कीबाट दिनहुँ आउने चिट्ठा भारतीय तथा नेपाली कारोबारीको सेटिङमा बिक्री वितरण हुँदै आइरहेको छ ।

भारतीय चिट्ठा कारोबारीको बिगबिगी बढ्दा पनि यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले सक्रियता नदेखाएकोमा स्थानीयबासी चिन्तित बनेका छन् । प्रहरीकै अगाडी कारोबारीले खुलेआम सर्वसाधारणलाई चिट्ठा बिक्री गर्दा पनि प्रहरीले नदेखेको जस्तो गरेको स्थानीयको भनाई छ ।

यसको लतमा लागेर नेपाली नागरिक घरबारविहीन हुन थालेको स्थानीयको गुनासो छ । सुरक्षाकर्मीले चिट्ठा कारोबारीमाथि सीमा क्षेत्रमा कडाइका साथ निगरानी नबढाएका कारण यसमा सक्रिय गिरोहले खुलेआम बिक्री वितरण गरिरहेको पाइएको छ ।

चिट्ठामा १ करोड भारतीय रुपैयाँ पर्ने भन्दै गिरोहले विहान, दिउँसो र बेलुकाको समयको चिट्ठा सर्वसाधारणलाई बेच्ने गरेका छन् । 

भारतीय बजारमा छ्याप छ्याप्ती पाउने चिट्ठा नेपालका कारोबारीले गोजीमा, झोलामा र पसल–पसलमा बेच्ने गर्छन । यस्तो अवैध धन्दा नियन्त्रण गर्न सामाजिक संघ–संस्थाहरु जुट्नु पर्ने स्थानीयको भनाई छ ।

झापाका जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीले प्रतिबन्धित भारतीय चिट्ठाको विषयमा जानकारी आएको बताए । उनले सीमा नाकाका सबै प्रहरी युनिटलाई खवर गरी भारतीय चिट्ठा भित्राउन नदिन कडाई गरिने बताए । त्यस्तो कारोबार गरेको भेटिए पक्राउ गरी कारवाही गरिने एसपी रेग्मीले बताए ।

चिट्ठा ऐन, २०२५ को दफा २ अनुसार नेपाल सरकारले अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाइदैन । ऐनविपरीत चिठ्ठाको कारोबार गरिएमा बिगो जफत भई बिगोबमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । 


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।