४ जेठ २०८१, शुक्रवार

एसईई परीक्षा

ब्रेल लिपीमै एसईई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

१९ चैत २०७९, आइतवार
Image

झापा, १९ चैत । इलामको माई नगरपालिकाका दृष्टिविहीन सबिन बिक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिइरहेका छन् ।

उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् । राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका तीन जना दृष्टिविहीनले आफु पढिरहेकै विद्यालयमा जाँच दिन पाएका छन् ।

सेतो छडीको सहारामा परीक्षा केन्द्रमा पुग्ने सबिन आफुले पढिरहेको भन्दा एक कक्षा मुनिका विद्यार्थीलाई लेखन सहयोगी राखेर एसईईको परीक्षामा सहभागी छन् ।

दृष्टिविहीन र अन्य परीक्षार्थीका लागि बोर्डले दिएको सुविधा त्यही लेखन सहयोगी मात्र हो । प्रश्नपत्र उही छ । बस्ने कोठा उस्तै हो । परीक्षाको समयमा आधा घण्टा थप गरिएको हुन्छ ।

राम्रो ग्रेड ल्याएर एसईई उत्तीर्ण गर्ने सपना साँचेका सबिन लेखन सहयोगी राखेर परीक्षामा सहभागी हुनुपरेकोमा सन्तुष्ट छैनन् । आफ्नो मनको भावना सहयोगीले पूर्णरुपमा व्यक्त गर्न नसक्ने उनको अनुभव छ ।

“हामी परीक्षासँग डराउँदैनौं, हामीले पनि राम्रो अध्ययन र परीक्षाको तयारी गरेका हुन्छौं,” बलियो आत्मविश्वासका साथ उनी भन्छन्–“तर, ब्रेल लिपीमा उत्तर दिने अवसर पाएनौं ।” 

सबिनलाई अध्यापन गराउँदै आउनु भएको दुर्गा माध्यमिक विद्यालयका स्रोत शिक्षक चन्द्र भट्टराई ब्रेल लिपीमा परीक्षा दिन पाउने हो भने दृष्टिविहीनहरुले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ ।

शिक्षक भट्टराईले १२ जना दृष्टिविहीन विद्यार्थीलाई दुर्गा माविमा पढाउँदै आउनु भएको छ । सो माविबाट एसईई परीक्षा दिइरहेका सबिन बिक र सन्देश लिम्बुले कक्षा ९ मा अध्ययनरत् विद्यार्थीद्वय शिशिर मिश्र र फरिदा खातुनलाई लेखन सहयोगी राखेका छन् ।

दमकको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दृष्टिविहीन निर्मला कार्कीले एसईई परीक्षा दिइरहेकी छन् । पढिरहेकै विद्यालयलाई नै उपकेन्द्र बनाएर राष्ट्रिय परीक्षा बोर्डले दृष्टिविहीन विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाएका कारण निर्मलाले पनि एक जना लेखन सहयोगी राखेर जाँच दिइरहेकी छन् । 

परीक्षा हलमा परीक्षार्थीले जे जे उत्तर लेख्नु भन्छन्, लेखन सहयोगीले त्यही विवरण लेखिदिने काम गर्दै आएका छन् । यसरी मनको भावना अर्कालाई सुनाएर लेखाउँदा बोल्ने र लेख्ने व्यक्तिको शतप्रतिशत तारतम्य नमिल्ने शिक्षक भट्टराई बताउनुहुन्छ ।

“दृष्टिविहीन परीक्षार्थीको मनमा जुन भावना आउँछ, त्यो लेखन सहयोगीको भरमा अभिब्यक्त हुन सक्दैन,” उहाँ भन्नुहुन्छ–“भन्दा भन्दै आधा कुरा बिर्सने सम्भावना हुन्छ भने बोल्ने आफ्नो मन र लेख्ने अर्काको हातको तालमेल पनि मिल्दैन ।” उहाँले आगामी दिनमा दृष्टिविहीन परीक्षार्थीका लागि ब्रेल लिपीमै परीक्षा दिन पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई सुझाव दिनुभयो ।

ब्रेल लिपीमा पढेका विद्यार्थीले ब्रेल लिपीमै परीक्षा दिन पाउनु जायज हुने उल्लेख गर्दै उहाँले दृष्टिविहीनका लागि प्रश्नपत्र बेग्लै हुनुपर्ने माग गर्नुभयो । सामाजिक र विज्ञान विषयको चित्रात्मक प्रश्नपत्रको साटो दृष्टिविहीनका लागि बैकल्पिक प्रश्नपत्र दिइनु पर्ने शिक्षक भट्टराईले माग गर्नुभयो ।

दृष्टिविहीन विद्यार्थीका लागि गणित विषयको पठनपाठन र परीक्षा सबैभन्दा कठिन हुने गरेको छ । कक्षामा शिक्षकले प्रयोग गर्ने कालोपाटी उनीहरुका लागि उपयोगी हुँदैन । ज्यामितीमा प्रयोग हुने चित्र उनीहरुले नदेख्ने हुँदा सिकाई नै प्रभावकारी हँुदैन । 

झापाका दृष्टिविहीनमध्ये तत्कालीन एसएलसी परीक्षा दिने पहिलो विद्यार्थी दिपक थापा पनि गरामनीस्थित दुर्गा माविकै हुनुहुन्छ । उहाँले २३ वर्षअघि २०५६ सालमा एसएलसी परीक्षा दिनुभएको थियो ।

पहिले र अहिलेको परीक्षाको नाम फरक परे पनि परीक्षाको प्रणाली, शैली र विद्यार्थीले भोग्नु पर्ने समस्या उस्तै रहेको उहाँले बताउनुभयो । ब्रेल लिपीमा अध्ययन गरेकाहरुका लागि राज्यले ब्रेल लिपीमै परीक्षा दिन पाउने व्यवस्था मिलाउन सक्नु पर्ने उहाँको भनाई छ ।

“आफैले लेख्न नपाएसम्म परीक्षा प्रभावकारी हुँदैन भनेर हामीले वर्षौदेखि भन्दै आएका छौं, तर कसैले हाम्रा माग सुनेनन्,” विर्तामोड अपांगता स्वावलम्बन संस्थाको अध्यक्ष समेत रहनु भएको थापाले भन्नुभयो–“भाइवहिनीहरुले कति दुःखले पढेका हुन्छन् । अर्काले लेखेर पास गरेको भनिदिदा दृष्टिविहीन विद्यार्थीको स्वाभिमानमा पनि चोट पुग्ने गरेको छ ।”

दुर्गा माध्यमिक विद्यालयबाटै एसईई परीक्षा दिइरहेका दृष्टिविहीन सन्देश लिम्बुले पढाईमा तनमन लगाएर मिहेनत गरेको जनाउँदै राम्रै नतिजा आउने अपेक्षा गरेका छन् । उनले पनि आफुले जाने र बुझेजति सबै उत्तर लेखन सहयोगीले लेखिदिन सम्भव नहुने बताउँदै ब्रेल लिपीमा उत्तर लेख्न पाउने हो भने मन सन्तुष्ट हुने बताए ।

दुर्गा माध्यमिक विद्यालय परीक्षा केन्द्राध्यक्ष लक्ष्मण शिवाकोटीले यसपाली गणित विषयको प्रश्नपत्रमा दृष्टिविहीनका लागि वैकल्पिक प्रश्नहरु राखिएको बताउनुभयो । परीक्षार्थीहरु ब्रेललिपीमै परीक्षा दिन तयार रहेको कि नरहेको भनेर केही महिना अघि केन्द्रीय बोर्डबाट सोध्दा ब्रेल लिपीको सिफारिस गरिदिएको उहाँले बताउनुभयो ।

सुस्त–श्रवण परीक्षार्थी १३ जना

झापा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १३ जना सुस्त–श्रवण विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन् ।

जसमध्ये सात जना छात्र र छ जना छात्रा रहेको कनकाई–८ स्थित हिमाली माध्यमिक विद्यालयका स्रोत शिक्षक हरिप्रसाद अधिकारीले बताउनुभयो ।

जिल्लाको कमलस्थित मंगलमय मावि, कनकाईस्थित हिमाली मावि र कनकाई मावि र विर्तामोडको मोहनमाया माविमा सुस्त–श्रवण विद्यार्थीका लागि पढ्ने विशेष व्यवस्था रहेको छ । तर माध्यमिक तहको पढाई हिमाली माविमा मात्र भइरहेको छ ।

सांकेतिक भाषामा पढेका सुस्त–श्रवण विद्यार्थीलाई परीक्षा दिनभन्दा कक्षा कोठामा पढाएको बुझ्न गाह्रो हुने शिक्षक अधिकारी बताउनुहुन्छ ।

(रासस)

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।