पौरखी नारी
पौरखी नारी
झापा, ११ भदौ । प्रतिनिधिसभाकी पूर्व सांसद् बिमला विश्वकर्मालाई अचेल राजनीतिक मञ्चसँगै आत्मनिर्भरताका लागि व्यापारमा सक्रिय भएको देख्न पाइन्छ ।
झापाको विर्तामोड नगरपालिका वडा नं. १ निवासी उहाँ अर्थोपार्जनका लागि सरसफाई सम्बन्धी रासायनिक सामानहरुको व्यापारमा लाग्नु भएको हो । उहाँलाई हलुका तीन पांग्रे सवारी साधनमा सामानहरु राखेर सहरका गल्ली र चोकहरुमा विक्री गर्दै हिँडेको भेटिन्छ ।
“राजनीति समाजको सेवा हो भने व्यापार जीविकाको माध्यम हो,” व्यापारमा लाग्नुको कारण बताउँदै उहाँ भन्नुहुन्छ– “राजनीति इमानपूर्वक गरिने जनसेवा भएकाले त्यसबाट पालिने कुरा आउँदैन । म र मेरो परिवारको दैनन्दिन जीवन चलाउन कुनै न कुनै आर्थिक आर्जन हुने उद्यम गर्नै पर्छ । त्यसैले व्यापारको बाटो रोजेकी हुँ ।”
पूर्वसांसद् विश्वकर्मा मजदूर क्षेत्रबाट राजनीतिमा आउनु भएको हो । नेकपा एमालेको भ्रातृ संगठन जिफन्टको कार्यकर्ताको रुपमा उहाँले लामो समय संघर्षमय भुइँतहको राजनीतिक जीवन बिताउनु भएको थियो । पार्टीले वि.सं. २०७४ मा समानुपातिक सिटबाट प्रतिनिधिसभाको सदस्य निर्वाचित गरेपछि उहाँको जिम्मेवारी फेरियो ।
“पदीय जिम्मेवारी अस्थायी कुरा हो भन्ने मलाई हेक्का थियो,” उहाँले भन्नुभयो– “त्यसैले सांसद्को जिम्मेवारी सकिएपछि केही नयाँ उद्यम गरौं भन्ने मनमा लागिरहेको थियो । त्यही भएर उद्योगमा हात हालेकी हुँ ।”
पूर्वसांसद् विश्वकर्माले घरमै रु. २५ लाखको लगानीमा यूनिक केमिकल उद्योग सञ्चालन गरिरहनु भएको छ । उक्त उद्योगबाट कालो फिनेल, सेतो फिनेल, ट्वाइलेट क्लिनर, भाँडा माझ्ने डिसवास, सिसा पुछ्ने कोलिन र हेन्डवास लगायतका सरसफाइका सामग्रीहरु उत्पादन भइरहेको उहाँले बताउनुभयो ।
“आफु जहाँ गए पनि झोलामा वा गाडीमा आफ्नो उद्योगबाट उत्पादित सामानहरु लिएरै जान्छु,” उहाँले सुनाउनुभयो– “मैले व्यापार थालेकी छु है साथीहरु भन्छु । चिनेजानेका साथीहरु धेरै हुनुहुन्छ । एक एक पोका सबैले किनिदिनु हुन्छ ।”
अखिल नेपाल महिला संघ झापाले दमकमा हालै आयोजना गरेको तीज विशेष कार्यक्रममा पूर्वसांसद् विश्वकर्मा विक्रीका सामानसहित सहभागी हुनुभएको थियो । तीज मनाउन भेला भएका जिल्लाभरका साथीहरुले सामान किनिदिएको उहाँले बताउनुभयो ।
राजनीति गर्नेहरुले व्यवसायमा नजोडिने हो भने धेरै प्रश्न उठ्ने भएकाले राजनीतिक जिम्मेवारी निर्वाहसँगै महिला उद्यमी बन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो ।
सानो लगानीबाटै आफूले उद्यम सुरु गरेको जनाउँदै उहाँले सामान उत्पादन गर्न छोराछोरीले सहयोग गरिरहेको बताउनुभयो । धेरै उत्पादन गरेर मात्र नहुने रहेछ भनेर पहिला बजार खोज्नतिर केन्द्रित भएको उहाँले सुनाउनुभयो ।
उहाँले आठ प्रकारका सामानलाई प्याकेजमा रु. एक हजारमा विक्री गर्दै आउनु भएको छ । विर्तामोड नगर अस्पताल, विर्तामोड नगरपालिका, केही सुपर मार्केट लगायतका संघ संस्थाले नियमित रुपमा सामान खरिद गरिदिएको उहाँले जानकारी दिनुभयो ।
उहाँ हाल नेकपा एमालेको कोशी प्रदेश कमिटीको सचिवालय सदस्य एवम मुक्ति समाजको झापा इञ्चार्जको राजनीतिक जिम्मेवारीमा हुनुहुन्छ । “व्यापारमा लाग्नु भनेको राजनीति छाडेको भन्ने होइन,” उहाँले भन्नुभयो– “उद्योग र व्यापारमा धेरै समय दिइरहेकी छु । राजनीतिक काम पनि गरिरहेकै छु ।”