२३ भदौ २०८१, आइतवार

कोशीका सात जिल्ला बाढी–पहिरोको उच्च जोखिममा

१ असार २०८०, शुक्रवार
Image

झापा, १ असार । कोशी प्रदेशका १४ जिल्लामध्ये सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । प्रदेश सरकारले यस बर्ष बाढी र पहिरोबाट ६८ हजार ९११ घरधुरीका तीन लाख एक हजार १४३ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० अनुसार कोशी प्रदेशमा झापा, मोरङ, सुनसरी, उदयपुर बाढी र खोलुखम्बू, ताप्लेजुङ र तेह्रथुम पहिरोको उच्च जोखिममा रहेको देखिएको प्रदेश विपद व्यवस्थापन परिषदले जनाएको छ । 

जल तथा मौसम विभागले यस बर्ष कम बर्षा हुने पक्षेपण गरे तापनि मनसुन विपद जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सुरक्षा निकाय, सहयोगी निकायहरुसँगको छलफल, उद्धार तथा राहतका लागि आवश्यक सामाग्रीहरुको तयारी भइरहेको परिषदले जनाएको छ ।

कोशी प्रदेशमा १० बर्षको अवधिमा ३७७ वटा बाढीको घटनामा १२४ जनाको मृत्यु भएको छ । विगत २०६९ सालदेखि २०७९ सम्ममा २१ जना घाइते र ६६ जना बेपत्ता भएको विपद पोर्टलमा उल्लेख छ ।

झापाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।

जिल्लामा प्रत्येक बर्ष बाढीबाट १० हजार परिवार प्रभावित, १५ जनाको मृत्यु, पाँच भन्दा बढी हराएको, एक सय परिवार पूर्णरुपमा विस्थापित र दुई हजार परिवार आंशिक रुपमा विस्थापित हुँँदै आएको रेडक्रसको तथ्यांकमा उल्लेख छ ।