१ असोज २०८१, मङ्गलवार

मेचीनगरका विद्यालयलाई अत्याधुनिक फिल्टर मेसिन

९ असार २०८०, शनिवार
Image

झापा, ९ असार । वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको छ वटा माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि रु. ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ ।

एक हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य रु. छ लाख रहेको छ । केन्द्रले विद्यालयहरुलाई निःशुल्क रुपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि अमर मेचेले जानकारी दिनुभयो । 

फिल्टर मेसिन पाउने विद्यालयहरु मेचीनगर ८ को आदर्श माध्यमिक विद्यालय, वडा नं. १० को इस्ट होराइजन आवासीय अंग्रेजी माध्यमिक विद्यालय र धुलाबारी माध्यमिक विद्यालय, वडा नं. ९ को कवि शिरोमणि माध्यमिक विद्यालय, वडा नं. १३ को शहिद दशरथ माध्यमिक विद्यालय र वडा नं. १४ को बालसुबोधिनी माध्यमिक विद्यालय रहेका छन् ।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीले प्राप्त भएका फिल्टर मेसिनबाट दश हजार भन्दा बढी विद्यार्थी शुद्ध पिउने पानीको सुविधाबाट लाभान्वित हुने बताउनुभयो । नगरका अन्य विद्यालयमा पनि शुद्ध पिउने पानीको अभाव पूरा गर्न थप मेसिन उपलब्ध गराउनका लागि वातावरण संरक्षण केन्द्र नेपाललाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खड्काले आफ्नो विद्यालयलाई उपलब्ध भएको फिल्टर प्लान्ट जडान गरिएको जनाउँदै त्यसको सञ्चालन र प्राविधिक रेखदेख विद्यालयका कर्मचारीले नै गर्ने बताउनुभयो ।

यसैबीच, मेचीनगरको भानु आधारभूत विद्यालयको व्यवस्थापन समितिले विद्यालयलाई बन्द हड्तालमुक्त घोषणा गरेको छ । सरकारले तोकेको सार्वजनिका विदा बाहेक विद्यालयको पठनपाठन कहिल्यै अवरुद्ध नहोस् भन्नाका लागि यस्तो निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर ओलीले बताउनुभयो ।

उहाँका अनुसार समितिको बैठकमा विद्यालयलाई बन्दमुक्त बनाउने सर्वसम्मत निर्णय भएको हो । विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले उक्त निर्णयमा सहमति जनाएका छन् ।