१ असोज २०८१, मङ्गलवार

कोशीमा तीन मन्त्री थपिए, समाजवादी असन्तुष्ट

२४ असार २०८०, आइतवार

मेचीनगर, २४ असार ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले माओवादीका दुई र कांग्रेसका एक गरी तीन जनालाई मन्त्री नियुक्त गर्नुभएको छ ।

विवादकाबीच मुख्यमन्त्री बनेका थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, कांग्रेसका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गर्नुभएको हो । 

शुक्रवार माओवादीको आन्तरिक विवादका कारण जीवन मन्त्री नियुक्त हुन सक्नुभएको थिएन । शुक्रवार थापाले जीवन आचार्यलाई मात्रै मन्त्री बनाउने तयारी गर्नुभएको थियो । गुटका कारण विवाद भएपछि उहाँको मन्त्री नियुक्ति रोकिएको थियो ।

मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिनुभएको छ । खत्री र कार्कीलाई भने मन्त्रालयको जिम्मेवारी दिइएको छैन । यसअघि शुक्रवार नियुक्त भएका मन्त्रीहरू कमल प्रसाद जवेगु र प्रदीप सुनुवारले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबिच भएको पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाउनुभएको छ ।

उहाँले भन्नुभयो ‘हामीले सबै दलबाट एक एक जना मात्रै मन्त्री बनाउने सहमति गरेका थियौँ । तर, त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गर्नुभयो । यसमा हाम्रो आपत्ति छ ।’ उहाँले यस्तै कार्य जारी रहे सहकार्य अघि बढ्न नसक्ने चेतावनीसमेत दिएका छन् ।